हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ : मन्त्री मगर

रौतहट । खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताउनुभएको छ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गर्नुहुँदै मन्त्री मगरले नेपाली जनताले देशलाई आर्थिक रुपमा समृद्ध बनाउन वाम गठबन्धनलाई करीब दुईतिहाइ मत दिएको बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत समृद्ध र सक्षम नेपाल बनाउन दिनु भएको छ। हामीले हिजो चुनावका क्रममा पेश गरेको घोषणापत्रमा नेपाललाई समृद्ध बनाउने, समान हक अधिकारको कुरो सुनिश्चित गर्दै नेपाली युवाहरूलाई नेपाल फर्काउँदै सुन्दर नेपालको परिकल्पना गरिराखेका छौँ।’ उहाँले भन्नुभयो, ‘हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ।’

याे पनि पढ्नुस  माडीमा पहिलो ठूलो खानेपानी आयोजना निर्माण हुँदै

शिलान्यास कार्यक्रममा मन्त्री मगरले स्वच्छ खानेपानी संविधानमा नै नेपाली जनताको मौलिक हकमा समावेश भएकाले आफूले सोही अनुसार काम गरिरहेको बताउनुभयो।

नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँचमा राख्नुपर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको छ । उहाँले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउनका लागि मन्त्रालय दीर्घकालिन कार्ययोजनासहित काम गरिरहेको बताउनुभयो। खानेपानी र सरसफाई नेपालको पहिचानसँग जोडिएको मन्त्री मगरको भनाइ थियो।

याे पनि पढ्नुस  यसकारण भोलिदेखि सडक खन्न नपाइने

उहाँले भन्नुभयो, ‘गाउँघर नगर जिल्लाको सरसफाइलाई निकै महत्वका साथ लिइएको छ। जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको सरसफाइ राष्ट्रको मर्यदासँग जोडिएको हुन्छ।’

उहाँले थप्नुभयो, ‘राष्ट्रको पहिचान सरसफाई र स्वच्छ खानेपानीसँग जोडिएको हुन्छ। राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण, समाजले इंगित गरेको हुन्छ ।

उहाँले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘खानेपानी मन्त्रालयको लक्ष्य भनेको नेपाली जनता, चाहे पूर्वका होउन् चाहे पश्चिमका, चाहे तराईका होउन् चाहे हिमालका होउन्, सबै जनताले स्वच्छ खानेपानी पिउने अधिकार पूर्ति हो।’

याे पनि पढ्नुस  तीनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

उहाँले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भुमिका रहेको बताउनुभयो। तराईका २२ ओटै जिल्लाहरूमा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सुरु हुन गइरहेको उहाँको भनाइ थियो।

त्यसैगरी हिमाली र पहाडी क्षेत्रमा पनि स्वच्छ वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने उहाँले घोषणा गर्नुभयो। सिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु शाह लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्