डीपीएल क्रिकेटको पहिलो खेलमा काठमाडौं विजयी

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ । उसले टिम चौराह धनगढीलाई ७ विकेटले पराजित गरेको हो ।

धनगढीस्थित अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहले दिएको १४६ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १८ ओभर ४ बलमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।

काठमाडौं गोल्डेन्सको जितमा अमित श्रेष्ठले अविजित ८१ तथा नरेश बुढाएरले अविजित २४ रन जोडे । त्यस्तै भारतीय खेलाडी जयकिसन कोल्सावालाले १६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन बनाए । टिम चौराहका सम्सद शेखले २ तथा सुनील धमलाले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिम चौराहले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन जोडेको थियो । टिम चौराहको लागि सुनील धमलाले ६८ तथा शंकर रानाले ३६ रन जोडे ।

त्यस्तै कप्तान सोमपाल कामी सुन्य रनमा आउट हुँदा राजु रिजालले अविजित ११ र भारतीय खेलाडी पुनित मेहेराले ९ रन बनाए ।

काठमाडौं गोल्डेन्सका शाहब आलमले ह्याट्रिक विकेट लिए । आलम डीपीएलको दोस्रो संस्करणमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी समेत बने ।

कमेन्ट गर्नुहोस्