आर्मीले कुट्यो सुदूरपश्चिमका खेलाडी

सर्लाही, चैत १७ । त्रिभुवन आर्मी क्लबका खेलाडीले खेल मैदान भित्रै विपक्षी टोली सुदूरपश्चिम ११ का खेलाडीलाई कुटेपछि राजर्षि जनक कप फुटबलअन्तर्गत शनिबारको फाइनल खेल स्थगित भएको छ ।

सर्लाहीको बागमतीमा जारी उक्त प्रतियोगितामा दुवै टोली बीच आरोप प्रत्यारोप सुरु भएको छ । सुदुरपश्चिम ११ ले आर्मीले सुरुदेखि नै अमर्यादित तरिकाले खेलेको आरोप लगाएको छ भने आर्मीले विपक्षी टोली अमर्यादित भएको भन्दै खेल बहिष्कार गरेको छ।

आर्मी दोस्रो हाफको २२ मिनेटसम्ममा २–१ को स्कोरले पछि रहेको थियो । यसै बीच सुदूरपश्चिमका ११ नम्बर जर्सीका एरोनाले डबल एलोसहित रेड कार्ड पाएपछि उनीमाथि आर्मीका खेलाडी मैदान भित्रै जाइलागेका थिए ।

मध्यान्तरको २२ मिनेटमा रेड कार्ड पाएका एरोना सुरुदेखि नै आर्मीको निशाना परेका थिए। मैदानभित्रै खेलाडी कुटिएपछि फिफाका रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिएका छन् ।

सुदूरपश्चिमले आर्मीले खेल हार्न थालेपछि कुटपिटमा उत्रेको जनाएको छ।

त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल छोडेर मैदान बाहिरिएका छन् भने सुदूरपश्चिम ११ ले आफ्नो टिम विजय भएको दावी गर्दै जुलुस निकालेको छ । आयोजकले दुवै टोलीलाई सँगै राखेर विवादको टुङ्गो लगाउने जनाएको छ । मैदानमा झडप भएपछि प्रहरीले लठ्ठी चार्ज गर्नु परेको थियो ।

आयोजक बागमती युवा क्लबका पदाधिकारीले आजको फाइनल खेल रद्द भएको बताउँदै उक्त खेल आइतबार पुनः खेलाइने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्