जनतालाई सास्ती नहुने गरी हुलाकी सडकको काम गर्न मन्त्री मगरको निर्देशन

पुनर्वास । खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरी तीव्रगतिमा काम गर्न निर्देशन दिनुभएको छ ।

सडक निर्माणमा भइरहेको ढिलासुस्तीले जनतालाई सास्ती भइरहेको बताउँदै मन्त्री मगरले छिटो निर्माण सक्न निर्देशन दिनुभयो । ‘जनताको सास्ती हामी हेरेर बस्न सक्दैनौं, अरु निकायसँग पनि छलफल गर्नुपर्ने भए हामी गर्छौ’, हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यावसायीसँग छलफल गर्दै मन्त्री मगरले भन्नुभयो, ‘हामी चुप लागेर बस्न ठिक हुँदैन ।’

याे पनि पढ्नुस  पुनरवास नगरापालिकामा माओवादी केन्द्रकाे मेयरमा वीरबहादुर

कञ्चनपुरको डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि मन्त्री मगरले छ्लफल गर्नुभएको हो ।

मन्त्री मगरले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र बर्खामा हिलो हुन नदिने उपायका बारेमा छलफल गर्नुभएको थियो । असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यावसायीले जनाएका छन् । ‘तोकिएको समयमै काम सक्ने गरि काम भइरहेको छ’, निर्माण व्यावसायी रोशन भट्टले भन्नुभयो ।

याे पनि पढ्नुस  शहीद छोरोको सालिक हेर्ने आमाको सपना अधूरै

छलफलमा निर्माण व्यावसायीले बजेटको समस्या र निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो गरेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी आफ्नो भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै आयोजना इन्जिनियर नरेन्द्र ओझाले निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्