विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ ।

विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय सरकारले विभेद हटाउनका लागि वडाध्यक्ष रंग तामाङको नेतृत्वमा सहभोजको आयोजना गरेको थियो । प्रजिअ विश्वराज न्यौपाने सहभोजका लागि स्थानीय तह, जिल्ला समन्वय समिति, विद्यालयका शिक्षक र अभिभावक तथा जिल्लास्तरमा रहेका अधिकारकर्मी सहितको टोली लिएर विद्यालयमा पुग्नुभएको थियो ।

याे पनि पढ्नुस  चन्दा उठाएर सडक खन्दै स्थानीय, विकास बजेटमा जनप्रतिनिधि भने भ्रमणमा

विद्यालयमा सबै मिलेर भोजन तयार पारेर सबैले संयुक्त रुपमा भोजन ग्रहण गरे । विवाद भएको विद्यालय (चामुण्डाको तीजडाँडास्ती) मा औपचारिक कार्यक्रम पनि सम्पन्न भयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यावहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउदै कानूनले दण्डित गरेका विषयबारे नागरिकले बुझ्नुपर्ने र विभेद गर्न नहुने सुझाव दिनुभयो ।

याे पनि पढ्नुस  द्वन्द्वमा सुरक्षा फौजले बेपत्ता पारेकाको शव खोतल्दै आफन्त, १४ वर्षपछि दाहसंस्कार

जिससका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकको बसोवास भएका ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायत समस्या हुनु दुःखदायी घटना भएको बताउनुभयो ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेकामा जोड दिनुभयो ।

याे पनि पढ्नुस  पीडित श्रीमतीले नै ‘डिभोर्स’ माग्दा श्रीमानलाई उन्मुक्ति

प्रजिअ न्यौपानेले विभेद गर्ने अभिभावक वा जो कोहीलाई कारबाही हुने चेतावनी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामीले व्यवहारमै परिवर्तन गर्नुपर्ने कतिपय कुरीति र कुसंस्कारका लागि अझै गाउँगाउँमा बहस र पैरवी हुनुपर्ने बताउँदै जनप्रतिनिधि र अधिकारकर्मीले यसबारे जनचेतना अभियान फैलाउन योजना निर्माण गरेर लाग्नुपर्ने सुझाव दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्