३० अर्ब व्ययभारको ‘स्वैच्छिक अवकाश’ रोकियो

सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अवकाशको प्याकेज ल्याएको थियो । देउवा सरकारले घोषणा गरेको प्याकेज रोज्दै ९ हजार ५ सय कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरुले ७ वर्षको एकमुष्ट पेन्सनसहितको सुविधा पाउँथे । तर, सरकारले राज्यलाई ठुलो आर्थिक भार थपिन भन्दै प्याकेज कार्यान्वयन नगर्ने नीति लिएको हो ।

याे पनि पढ्नुस  काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्छु : लालबाबु पण्डित

सामान्य प्रंशासन मन्त्रालयले समायोजन ऐनअनुसार स्वैच्छिक अवकाश रोज्नेको नामावली प्रकाशन नगरेर प्रक्रिया रोकिएको जनाएको छ । स्वैच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत २३ चैतमा मन्त्रालयको वेबसाइटमार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर, मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै रोकिदिएको हो ।

मन्त्री पण्डितले अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई पनि अब काममै पठाउने तयारी भएको बताए । उनले स्वैच्छिक अवकाश अघि बढ्ने अवस्थामा नरहेको बताए ।

याे पनि पढ्नुस  कार्य क्षेत्रमा जान नचाहाने कर्मचारीमाथि कडा कारबाही हुन्छ : मन्त्री पण्डित

‘समायोजन ऐन संशोधन नहुँदासम्मलाई स्वैच्छिक अवकाश स्थगित भएको छ,’ मन्त्री पण्डितले भने, ‘मानसिक र शारीरिक रूपमा अस्वस्थ केही कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउनुपर्ने हुँदा अहिले नै रोकियो भन्ने शब्द प्रयोग गर्न चाहन्नँ । तर, अन्य अनुभवी कर्मचारीले राज्यलाई अप्ठेरो पर्दा सहयोग गर्नुपर्ने भएको छ ।’ उनले बाँकी कर्मचारीले सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताए ।

समायोजन ऐनमै कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउने व्यवस्था भएकाले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था रहेको मन्त्री पण्डितले बताए । उनले भने, ‘ऐन संशोधन दुई–चार दिनमै हुने कुरा होइन, ऐन संशोधन नहुँदासम्मका लागि स्वैच्छिक अवकाश रोकिन्छ । त्यसपछि ऐनमै सुधार गरेर स्वैच्छिक अवकाश रोकिन्छ ।’

याे पनि पढ्नुस  फागुनभित्र नयाँ २० हजार कर्मचारी भर्ना हुन्छन्ः मन्त्री पण्डित

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने यसबारे अहिले नै केही भन्न सक्ने स्थिति नरहेको बताए । ‘त्यसबारे केही छलफल नै भएको छैन र स्वैच्छिक अवकाशबारे कुनै काम पनि भएको छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘किन र कसरी रोकियो भन्ने कुरा मैले बोल्न मिल्दैन ।’

कमेन्ट गर्नुहोस्