प्रदेश ७ : प्रधानमन्त्रीले भारतसँग राख्नैपर्ने यी हुन १३ मुद्दा

प्रदेश नं.७ का जनप्रतिनिधि एवं सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमणमा प्रदेश नं.७ को आर्थिक विकास तथा समुन्नतिका लागि विभिन्न बिषयमा पहल गर्न माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश नं.७ का इन्चार्ज तथा कैलालीका संसद लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर भारतसंग जोडीएका सिमा समस्या, महाकाली नदिको १० वटा तुईनको विस्तपन लगायतका बिषयमा ध्यानाकर्षण गरेको हो ।

कतिपय विषयमा नेपालका तर्फबाट गर्नुपर्ने काम सकिएपनि भारतले आफ्नो जम्मेवारी पूरा नर्गदा समस्या भएको भन्दै त्यसबारे भारत भ्रमणका क्रममा विशेषरुपमा उठाउन टोलीले माग गरेको छ ।

प्रदेश नं.७ को भारतसँग जोडिएका उत्तराखण्ड र उत्तरप्रदेश राज्यका सिमानाको स्तरोन्नतिका साथै आवश्यक समन्वयको समेत खाचो औँल्याइएको छ ।

प्रदेश नं.७ को कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लामा रहेको सिमा विवाद समय समयमा सतहमा आउने गरेको छ । स्थानीय अधिकारी तथा भारतीय पक्षका सम्बन्धीत जिल्ला अधिकारीहरुसँग समय समयमा हुने गरेका सीमा बैंठकमा पनि यी बिषयहरुले स्थान पाउने भएपनि स्थानीयस्तरका अधिकारीहरुको समन्वय तथा पहलले मात्र समाधानसम्म पुग्न नसक्ने भएकोले उच्चस्तरीय भ्रमण तथा भेटघाटका क्रममा उल्लेखित विषय उठाउन आवश्यक रहेको टोलीले उल्लेख गरेको छ ।

कतिपय बिषयहरु सन्धि सम्झौता अनुरुप कार्यान्वयन नभएकोले दुई देशको उच्चस्तरीय राजनीतिक औपचारिक भेटघाटमा पहल गर्नुपर्ने तथा नेपाल र भारत सरकारका बीच विभिन्न समयमा भएका औपचारिक सम्झौता तथा अनौपचारिक छलफलमा सीमा विवादलाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिवद्धता गरेपनी व्यवहारमा यी कुराहरु लागु नभएकोले यस्ता समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्रीलाई सचेत गराइएको छ ।

प्रदेश नं.७ का जनप्रतिनिधि एवं सरोकारवालाहरुले सन्धी सम्झौतामा उल्लेख गरिएका विषयवस्तु कार्यान्वयन गर्न दुई देश कटिबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीलाई आसन्न भारत भ्रमणमा प्रदेश नं.७ को विकासको साथै सन्धी सम्झौता अनुरुप गरिएका प्रतिवद्धता लागु गर्न विभिन्न मुद्दाहरु प्राथमिकताका साथ राखिदिन अनुरोध गरेको छ ।

१ पञ्चेश्वर परियोजनाको कार्यलाई यथाशीघ्र अगाडि बढाउन पहल गर्ने ।

२ कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणधीन सुख्खाबन्दरगाहका लागि भारतीय पक्षले गर्नुपर्ने कामहरु अगाडि बढाउन पहल गर्ने ।

३ महाकाली नदीमा निर्माणाधीन पक्की पुलसम्म भारतीय राजमार्गबाट दीर्घकालीन रुपमा पहुँच मार्ग स्थापनाका लागि पहल गर्ने ।

४ बन्द हुने भनी हल्ला गरिएको धनगढीस्थित त्रिनगर–गौरीफन्टा भन्सार नाकालाई स्तरोन्नति गर्दै २४ घण्टा सञ्चालन गर्न पहल गर्ने ।

५ बैतडीको झुलाघाटलाई भारतसँग जोड्ने गरी पक्की पुल निर्माण पहल गर्ने ।

६ सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने ।

७ दार्चुला र धार्चुलालाई जोड्ने पक्की पुल निर्माण कार्य प्रारम्भका लागि पहल गर्ने ।

८ दार्चुलाको जौलजीबीमा स्थायी प्रकृतीको झोलुङ्गे पुल निर्माण गर्नुपर्ने ।

९ डडेल्धुराको साँदनीस्थित सीमा नदी महाकालीमा झोलुङ्गे पुल बनाउनुपर्ने ।

१० पञ्चेश्वर परियोजना अन्र्तरगत आवश्यक पर्ने झोलुङ्गे पुल निर्माण गर्ने ।

११ महाकाली नदी माथी रहेको बनवासा पुललाई चौबीसै घण्टा सञ्चालनका लागि पहल गर्ने ।

१२ एकीकृत महाकाली विकास सन्धिअनुसार भाँसी–ब्रह्मदेव १३ किमी सडकलाई भारतसँग जोड्नका लागि आवश्यक सडक निर्माण गर्ने ।

१३ शारदा नहरबाट सन्धि अनुरुप दोधारा चाँदनीलाइ प्रदान गर्ने भनिएको ३ सय क्यूसेक पानी नेपालसम्म पुर्याउनका लागि आवश्यक ७ सय मिटर नदी निमार्ण गर्ने ।

प्रधानमन्त्रीसँगको भेटमा सांसद लेखराज भट्ट, माननीय डा.दिपक प्रकाश भट्ट, माननीय नर बहादुर धामी, माननीय दामोदर भण्डारी, माननीय नारदमुनी राना, गोकर्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्