विकास र सम्बृद्धिको यात्रामा सहकारीको भूमिका महत्वपूर्ण : प्रचण्ड

काठमाडौ, चैत्र २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकास र सम्बृद्धिको यात्रामा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

बिहीबार राजधानीमा नेपाल सहकारी संघद्वारा आयोजित ‘सहकारी महासम्मेलन’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक आन्दोलन सकियो, अव देशमा विकास र सम्बृद्धिको अभियान शुरु भएको छ । यो यात्रामा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । दिगो विकास र सम्बृद्धिका लागि सहकारी आन्दोलनको भूमिका अहम हुने मैले ठानेको छु ।’

विश्वमा अहिल दुईवटा विकास मोडल पछिल्लो एक सय वर्षदेखि प्रचलनमा रहेको बताउदै प्रचण्डल भन्नुभयो, ‘एउटा मोडले जसले मुठ्ठीभर मानिसलाई दिनप्रतिदिन धनी बनाउदै लान्छ र गरिबलाई दिनप्रतिदिन गरिव हामी त्यसको विपक्षमा छौ । दोस्रो सामाजिक न्यायसहितको विकास मोडेल । जुन समाजवादमा मात्रै सम्भव छ । हाम्रो संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख राज्य व्यवस्था उल्लेख छ । त्यसका लागि सहकारीको भूमिका आवश्यक छ ।’

धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेका छौं
प्रचण्डले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेको बताउनुभएको छ । दोस्रो सहकारी महासम्मेलनको सम्मेलनलाई सोल्टी होटेलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गरेको बताउनुभयो ।

‘अव राज्य कतातिर जाने हो, हाम्रो विकासको बाट कस्तो हुने हो भनेर हामीले राजनीतिक रुपले संविधानतः स्पष्ट पारेका छौँ अव हामी जाने समाजवादको बाटो हो,’ उहाँले भन्नुभयो – ‘हामीले समाजवाद उन्मुख राज्य र तीनखम्बे नीति अन्तर्गत आजको विश्व परिस्थिति अनुकूल सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेका छौँ ।’ यो सबै नेपालीका लागि खुसी र गर्वको कुरा रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले सहकारी आन्दोलन राज्यलाई एकताको सूत्रमा बाँध्ने आन्दोलन भएको पनि बताउनुभयो । ‘सहकारी आन्दोलनमा विभेद हुँदैन, समाजका विपन्न वर्ग समुदायलाई सम्पन्न गर्ने बाटोको खोजी गर्छ यसर्थमा यो सहकारी आन्दोलन एकताको सूत्रमा बाँध्ने आन्दोलन पनि हो’ उहाँले भन्नुभयो – ‘जति सहकारी आन्दोलन लाई बलियो बनाउँछौ, त्यति राष्ट्रिय एकता बलियो हुन्छ, सामाजिक न्याय स्थापित हुन्छ र त्यति नै समृद्ध र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’

अध्यक्ष प्रचण्डले सिङ्गै देशलाई धनी बनाउने, सबै जनतालाई समृद्ध, शिक्षित र सभ्य बनाउने अभियान भनेको पनि सहकारीताको अभियान भएकोले राज्यको तर्फबाट यसमा पुरै सहयोग हुनुपर्ने बताउनुभयो । ‘राजनीतिक नेतृत्वको तर्फबाट यसमा पूरै सहयोग हुनुपर्दछ,’ उहाँले भन्नुभयो – ‘यो आन्दोललाई सामाजिक न्यायको आन्दोलन, सभ्य समाज निर्माणको आन्दोलन, आर्थिक अभिबृद्धिको मौलिक आन्दोलनको रुपमा, हाम्रो संस्कृति र परम्परालाई विकसित गर्ने आन्दोलका रुपमा लिईनुपर्दछ ।’

अध्यक्ष प्रचण्डले नेपाल सुशासन स्थिरता र विकासको महाअभियानको थालनी सँघारमा रहेकोले अब विकासको नयाँ मोडलमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । ‘यसलाई राज्यले, राजनीतिक नेतृत्वले ठीक ढङ्गले आत्मसात गरेर सङ्कल्पको साथ अगाडी जान सक्दा केहि वर्षभित्रमा नै नेपाललाई विकासको एउटा नयाँ मौलिक मोडलसहित नयाँ चरणमा लैजान सकिन्छ’ उहाँले भन्नुभयो ।

 

कमेन्ट गर्नुहोस्