कविताः हो हजुर हो पक्कै हो

हो हजुर हो पक्कै हो
यो पटक कुनै साँसद बनिएन
अनि कुनै मन्त्री पनि बनिएन
किनकि
साँसद हुन कसैको चाकरी गरिएन
कसैको पाउ मोलिएन
कसैको भजनकीर्तन गरिएन
कसैलाई लाखौं भेटी चढाइएन ।

हो हजुर पक्कै हो
पद हत्याउनकै लागि
कुनै गुटमा लागिएन
कुनै नेतालाई धम्की दिइएन
पार्टी फुटाउछु पनि भनिएन
अनि पदमा पुग्नकै लागि
गोप्य दस्तावेज सार्बजनिक गर्छु नि भनिएन ।

हो हजुर पक्कै हो
कुनै सांसदको भाइ, भतिज र छोरा परिएन
कुनै मन्त्रीको नातेदार नि भइएन
कालोलाई सेतो भनिएन
सेतोलाई कालो भनिएन
हो त्यसैले,
कुनै सांसद र मन्त्रीको
पिए र सल्लाहकार पनि भइएन ।

हो हजुर पक्कै हो
निष्ठा, त्याग र बलिदानको कहानीले
राजनीति गर्ने दिन गएछन
इमानदारिता, लगनशीलता र पौरखले राजनीति
गर्ने जमाना पनि गएछन
हो हजुर पक्कै हो
पैसा, पहुँच, शक्ति, नातावाद, कृपावाद
आदिले चलाइ रहेछ हामी र हाम्रो राजनीति ।।

युवराज पौडेल ‘सफल’

कमेन्ट गर्नुहोस्