दोलखाका जिसस प्रमुख पाण्डे ६ घण्टासम्म बन्धक, प्रहरीद्वारा उद्धार

दोलखा, चैत २४ । कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले ६ घण्टा बन्धक बनाएका जिल्ला समन्वय समिति (जिसस) दोलखाका प्रमुख डबल पाण्डेलाई प्रहरीले उद्धार गरेको छ ।

गाउँपालिका केन्द्र सुनखानी आसपासमा राख्नुपर्ने भन्दै कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले लापिलाङ जाने क्रममा प्रमुख पाण्डेको गाडी नियन्त्रणमा लिई कालिनाग बहुमुखी क्याम्पसमा बन्धक बनाएका थिए ।

दोलखाका प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्कीले जिसस प्रमुख पाण्डेको उद्धार गरिएको जानकारी दिए ।

भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले टेलिफोनबाट करिब साढे १२ बजेतिर जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय सिंगटीका प्रहर निरीक्षक नरेश मल्लको टोलीलाई खटाएर करिब ३ बजेतिर उद्धार गरिएको डीएसपी कार्कीले जानकारी दिए ।

कालिञ्चोक गाउँपालिकाको केन्द्र निर्धारण गर्न अध्यक्ष विनकुमार थामीले बोलाएको गाउँपालिका कार्यालयको बैंठकमा सहभागी हुन जाने क्रममा आफूलाई सुनखानीका नागरिकले करिब ६ घण्टा नियन्त्रणमा लिएको प्रमुख पाण्डेले स्वीकार गरेका छन् ।

जिसस प्रमख पाण्डेले आफूलाई सुनखानीका करिब ४–५ सय नागरिकले बोल्न पनि नदिएर नियन्त्रणमा लिएको बताए । पाण्डेले आफूलाई शुक्रबार बिहान करिब ९ बजेदेखि ३ बजेसम्म नियन्त्रणमा लिइएको जनाएका छन् ।

कालिञ्चोक गाउँपालिकाको केन्द्र हालको अस्थायी केन्द्रलाई कायम राख्ने या सार्ने भन्ने विषयको विवादले जनप्रनितिधिहरुबीच यस अघिदेखि नै तीब्र विवाद हुँदै आएको थियो । गाउँपालिकाको केन्द्र तोक्नेबारे निर्णय गर्न केही समय अघि बोलाईएको बैठकमा पनि जनप्रतिनिधिहरु बीच हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

गाउँपालिका अध्यक्ष थामीले आमन्त्रण गरेको बैठकमा वडा नं २, ५, ७, ८ र ९ का वडाध्यक्षहरुको उपस्थिति नरहेको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्