मेलम्ची सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ २९ चैतमा : मन्त्री बिना मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले निरन्तरको ‘फ्लोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताउनुभयो ।

‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरे, प्रगति विवरण लिए,’ उहाँले भन्नुभयो । कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने बताउनुभयो ।

जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले बताउनुभयो । ‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ ।’

हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उहाँले बताउनुभयो । वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री बिना मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘भेटघाट गर्ने मन्त्रालयमा भीडभाड गर्दा मन्त्रीलाई काम गर्न अप्ठ्यारो हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी पद्धतिबाट योजना ल्याएर ७ नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी काम गर्नुपर्छ ।’

पार्टीका नेता कार्यकर्ताले सिंहदरबारमा दिन बिताउनुभन्दा जनताको घरदैलोमा गएर काम गर्नुपर्ने पूर्वमन्त्री समेत रहनुभएका भट्टले सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मञ्चका सल्लाहकार संयोजक गोकर्ण भट्टले मन्त्री बिना मगर ७ नम्बर प्रदेशका लागि खानेपानी मन्त्री मात्रै नभएर सबै मन्त्रालयको मन्त्री रहनुभएको बताउनुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा कैलालीका व्यवसायी नासिर अलि बेग माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मञ्चका अध्यक्ष हेमन्त जोशीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा ७ नम्बर प्रदेशका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्