तीनदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फर्किए

काठमाडौं। अाइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ ।

समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री ओली उच्चस्तरीय छलफल र भेटघाट सकेर केही अघि स्वदेश फर्किनु भएको हो ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु सहित उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रमण सफल रहेको दावी गर्नुभयो ।

नेपाल–भारत सम्बन्ध नयाँ आयाममा पुगेको जिकीर गर्नुभएका प्रधानमन्त्री ओलीले दुई पक्षीय चासो र हितका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त छलफल भएको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणक्रममा नयाँ सम्झौता नभएपनि जल तथा रेलमार्ग र कृषिमा सहकार्य गर्ने सहमति भएको छ । नेपालले संविधान जारी गर्ने तयारी गरिरहँदा भारतले लगाएको नाकाबन्दीका कारण दुई देशीय सम्बन्ध चिसिएको थियो ।

त्यसयताका उच्चस्तरीय भ्रमणमा नेपालको आन्तरिक मामिलामा निरन्तर टिप्पणी गर्दै आएको भारतले प्रधानमन्त्री ओलीको भ्रमणक्रममा भने लोकतान्त्रिक सफलता र तीन तहको सफल निर्वाचनका लागि बधाई व्यक्त गरेको छ ।

प्रधानमन्त्री ओलीले दुई देशीय सम्बन्ध एक्काइसौं शताब्दी अनुकूल हुनुपर्नेमा जोड दिएपछि भारतले नेपालको विकास र समृद्धिको यात्रामा आफ्नो साथ, सहयोग र समर्थन हुने आश्वासन दिएको छ ।

कमेन्ट गर्नुहोस्