Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तामाकोशी जलविद्युत आयोजना निर्माणमा ढिलाई गरे कारबाही : प्रधानमन्त्री

दोलखा, चैत्र २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राईं गरे आफूलाई सीधै जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न नपाइने बताए ।

आयोजना निर्माणमा ढिलासुस्ती गरे तत्कालन कारबाही गरिने भन्दै उनले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि कुनै विलम्ब हुन नदिने बताए ।

उनले कुनै पनि ठाउँमा ढिला सुस्ती काम हुन नदिने वर्तमान सरकारको नीति रहेको भन्दै निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए ।

आयोजना निर्माणमा एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु जिरी सडकको स्तरोन्नतिका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए ।

उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भूकम्प, भारतीय नाकाबन्दी, विष्फोटक पदार्थको अपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ ।

आयोजनाको ९४ दशमलव ४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९को मे भित्र सम्पन्न गर्नुपर्ने छ । आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री, उर्जामन्त्री सहित चिनियाँ राजदूतको टोली दोलखा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: