मलाई काममा ढिलाई सह्य हुने छैन, निर्धारित समयमा राजधानीमा पानी पुर्याउन रातदिन खटिनुस् : मन्त्री मगर

मेलम्ची, चैत्र २९ । खानेपानी मन्त्री बीना मगरले दशैं अगाडि नै काठमाडौं बासीको घरमा मेलम्चीको पानी पुर्याउने आफ्नो लक्ष्य रहेकाले सोही अनुसार रातदिन खटिएर काम गर्न माताहातका निकायलाई निर्देशन दिएकी छन् । निर्धारित समयमा राजधानीमा पानी पुर्याउने काममा दिलाई भए त्यो आफूलार्इ सह्य नहुने उनले बताइन ।

बिहीबार राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम ब्रेक थ्रू विशेष समारोहमा बोल्दै मन्त्री मगरले भनिन्, ‘हामी सगरमाथा चढ्ने क्लाइमर हौं । र हामीले हिलारी स्टेप क्रस गरी सकेऔं । हिलारी स्टेप क्रस गरेपछि त्यो क्लाइमरले अब सगरमाथा चढ्न सक्छ । र सगरमाथाको चुच्चो चुम्न सक्छ ।’

याे पनि पढ्नुस  आशा पलायो, मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेक थ्रू भइसकेको समयमा अब काठमाडौंबासीको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको मन्त्री मगरले बताइन । उनले भनिन्, ‘ हामीले ब्रेक थ्रू गरीऔं । अब काठमाडौं बासीले मेलम्चीको पानी खान पाउने सुनिश्च्तित भइसेकेको छ ।’

‘मेलम्ची काठमाडौंबासीको सपना हो। निकट भविष्यमै सपना सार्थक हुँदैछ,  मन्त्री मगरले भनिन्, ‘काठमाडौंबासीको मुहारमा खुसी आउँदैछ। हामी त्यसका लागि सम्पूर्ण रुपले मेहेनत गरिरहेका छौं। काठमाडौंवासीकाे प्यास मेटाउने सिन्धुपाल्चोकका जनतालाई हृदयदेखि मेरो धन्यवाद छ।’

‘म मन्त्री भएर आएदेखि नै रातदिन नभनी हाम्राे टिमले काम गरिरहेकाे छ । हामी समृद्धिको नयाँ युगतिर लम्किएका छौं। हामीलाई एक मिनेट पनि विश्राम लिने छुट छैन,’ मन्त्री मगरले भनिन्, ‘तपाईहरु पनि रातदिन नभनी काम गर्नुस्। हामीले जनतालाई नतिजा दिनुपर्छ। बोलीले होइन, व्यवहारले जनताको अनुहारमा खुसी ल्याउनुपर्छ।’

याे पनि पढ्नुस  तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानी : मन्त्री बीना

मेलम्ची खानेपानी आयोजनाको ७.५ किलो मिटर लामो मूख्य सुरुङको बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा विशेष समारोहका बीच अन्तिम ब्रेक थ्रू सम्पन्न भएको छ ।

खानेपानी मन्त्रालयकाे जिम्मेवारी सम्मालेपछि मन्त्री बीना मगरले गत चैत्र ६ गते मेलम्ची आयोजना निर्माणस्थलको भ्रमण गरी २५ दिनभित्र सुरुङको ब्रेक थ्रू गर्ने गरी काम गर्न निर्देशन दिएकी थिइन । तर निर्धारित समय भन्दा चार दिन अघि नै सुरुङको अन्तिम ब्रेक थ्रू गर्न सफलता मिलेको हो ।

याे पनि पढ्नुस  राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलको भूमिका महत्वपूर्ण : मन्त्री बिना मगर

कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले काठमाडौंलाई मेलम्ची सुम्पन पाएकोमा खुसी व्यक्त गरे । मन्त्री तामाङले भने, ‘हामी मेलम्चीकी चेलीलार्इ काठमाडौंलाई सुम्पदै छौं। यत्रो मेलम्ची काठमाडौंलाई सुम्पेपछि यहाँका स्थानीयका समस्या पनि सरकारले हेर्नुपर्छ।’

औपचारिक कार्यक्रमपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले २६ किमी लामो सुरुङ मार्गको उद्घाटन गरेका थिए। कार्यक्रममा आयोजना प्रमूख रामचन्द्र देवकोटाले आयोजनाको ब्रिफिङ गरेका थिए।

कमेन्ट गर्नुहोस्