प्रदेश प्रहरी प्रमुखमा डिआईजी खटाइने, एआईजी बढुवा अन्योलमा

काठमाडौं, बैशाख १ । गृह मन्त्रालयले प्रदेश प्रहरी प्रमुखमा डिआईजीलाई खटाउने भएको छ।

एआईजीलाई प्रदेश प्रहरी प्रमुख वनाउने लबिङ प्रहरीबाट भएपनि गृह मन्त्रालयले डिआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाएको छ।

यसअघि प्रदेश प्रहरी प्रमुखका रुपमा एआईजीलाई खटाइएको थियो। सातै प्रदेशमा खटिएका एआईजीहरुले बुधबारदेखि अवकाश पाएपछि अब डिआईजीलाई इन्चार्जका रुपमा खटाउन लागिएको छ। ऐन ल्याएर डिआईजी तहकै प्रहरीलाई प्रदेश प्रहरी बनाउने गृह मन्त्रालयको तयारी छ। एआईजीलाई खटाउन प्रोटोकल नमिल्ने भएकाले प्रदेशमा अब डिआईजीलाई खटाइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए।

प्रदेशमा प्रहरी हेर्ने आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा सहसचिवस्तरको कर्मचारी सचिव हुने तथा एआईजी बिशिष्ट श्रेणीको पद भएकाले प्रथम श्रेणीको मातहतमा बिशिष्ट श्रेणीको कर्मचारी राख्न नमिल्ने भएकाले डिआईजी राख्न लागिएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले हचुवाका भरमा प्रदेशमा एआईजी खटाएको थियो। खटाएको २ महिनापछि नै प्रदेश एआईजीको पद फाजिलमा राख्ने निर्णय भएको थियो।

सरकारले बैशाखभित्रै संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ। ऐनको मस्यौदामा छलफल अन्तिम चरणमा पुगेको गृहसचिव राईले बताए।

एआईजीको दरबन्दी कति ?
नेपाल प्रहरीमा हाल प्रशासतर्फ एक जना पनि एआईजी छैनन्। जसकारण सबै विभाग तथा महानगरीय प्रहरी कार्यालय निमित्तको भरमा चलेका छन्।

एआईजीको दरबन्दी कति राख्ने भन्ने अन्योलताका कारण तत्काल एआईजी बढुवा प्रक्रिया सुरु हुने सम्भावना छैन।

यसअघि प्रहरीमा १५ जना एआईजी थिए। व्यक्तिका लागि पद थपेर सरकारले एआईजी बढुवा गरेको थियो। अब, कति एआईजी हुने भन्ने अन्योलता छ।

साढे ३ वर्षअघि सरकारले प्रहरी नियमावली संशोधन गरी ३ जना मात्र एआईजी राख्ने निर्णय गरेको थियो। तर, त्यो निर्णय कार्यान्वायन भएको छैन।

गृह मन्त्रालयका सचिव राईका अनुसार एआईजीको दरबन्दीबारे छलफल भइरहेको छ। केही दिनमै त्यसको टुंगो लगाएर बढुवा प्रक्रिया सुरु गरिने उनी बताउँछन्। प्रहरीका उच्च तहमा दर्जनौं पद रिक्त छन्। समयमा बढुवा नहुँदा संगठन अस्तव्यस्त बनेको छ।

गृह मन्त्रालयले डिआईजी बढुवा गरेर प्रदेशमा इन्चार्जको रुपमा खटाउने तयारी गरेको छ। एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन्।

सशस्त्रमा अढाई महिनादेखि एआईजी जिम्मेवारविहित

प्रदेशमा खटाउन भनेर दरबन्दी थपेर हतार हतार बढुवा गरिएका सशस्त्र प्रहरीका ५ एआईजीले अढाई महिनासम्म पनि जिम्मेवारी पाएका छैनन्।

माघको दोस्रो साता सरकारले जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो। उनीहरुको अहिलेसम्म पदस्थापन भएको छैन।

बुधबारदेखि सशस्त्र प्रहरीमा तीन एआईजीका पद रिक्त भएकाले तीन जनालाई त्यही पदमा पदस्थापन गर्ने तयारी भएपनि अन्य २ जनालाई कहाँ व्यवस्थापन गर्नेबारे छलफल अघि बढाइएको छ। यद्यपी सशस्त्र केही अधिकारी प्रदेशमा नै एआईजीलाई खटाउने प्रयासमा छन्।

कमेन्ट गर्नुहोस्