परिषदमा नयाँ वर्षको शुभकामना आदानप्रदान

काठमाडौं, वैशाख २ । नयाँ वर्ष २०७५ को अवसरमा समाजकल्याण परिषदमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको लैनचौरस्थित परिषद कार्यालयमा आइतबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै परिषद्का कोषाध्यक्ष वीरवहादुर ठगुन्नाले समाज कल्याण परिषद्लाई समाज विकाश परिषद्का रुपमा प्रदेशहरुमा विस्तार गर्दै सबै स्थानीय तहमा पहुँच पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

परिषद्लाई सेवाग्राहीप्रति उत्तरदायी र जिम्मेवार वनाउन सम्पूर्ण कर्मचारीको उत्तिकै भूमिका रहेको बताउँदै ठगुन्नाले मालिकको पाराले नभई सेवकको भावनाले काम गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति, समृद्धि र राजनैतिक स्थायित्वका लागि परिषद्का परम्परागत ढाँचालाई त्यागेर नयाँ जोश र उमंगका साथ काम गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।

हरेक व्यक्तिले आआफ्नो दायित्व पूरा गरेर मात्र नयाँ नेपालको परिकल्पना साकार गर्न सकिने बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘कतै ठेस लागेको, कतै रगत बगिरहेको र कतै काँढा विझिरहेको शरीरले कहिल्यै म्याराथुन जित्न सक्दैन ।’ म्याराथुन् जित्नका लागि स्वस्थ र तन्दुरुस्त शरीर हुनुपर्ने जिकीर गर्दै उहाँले कर्मचारीलाई गम्भिर र जिम्मेवार भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

परिषद्का निमित्त सदस्य सचिव एवं सामान्य प्रशासन विभागका प्रमुख प्रलाद पन्तले ठूलालाई आदर–सम्मान, सानालाई माया र नयाँलाई प्रोत्साहन गर्ने कुरालाई सबैले मनन् गर्नुपर्ने बताउनुभयो । नयाँ बर्षले हामी सबैलाई नयाँ जोश, जाँगरका साथ काम गर्ने उमंग र उर्जा प्रदान गरोस भन्ने कामना गर्दै प्रशासन प्रमुख पन्तले एक–आपसमा सहकार्य गरेर अगाडि बढ्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्