मानिसको आयुसँग जोडिएको खानेपानीसँग खेलवाड गर्नु हुँदैन : मन्त्री बिना

ललितपुर । खानेपानी मन्त्री बिना मगरले मानिसको स्वास्थ्य र आयुसँग जोडिएको खानेपानीको व्यवस्थापन र स्वच्छतासँग कसैले पनि खेलवाड गर्न नहुने बताउनुभएको छ ।

ललितपुरको कोन्ञ्योसोम गाउँपालिका–५ भारदेउस्थित नौखण्डेडोल स्वच्छ खानेपानी तथा सरसफाई आयोजनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाई जनताको मौलिक अधिकार भएकाले त्यसको व्यवस्थापनका लागि सरकारले काम गर्ने बताउनुभयो ।

याे पनि पढ्नुस  १० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल

‘खानेपानीको व्यवस्थापनका लागि गृहिणी महिलाले धेरै समय खर्चिनु परिरहेको छ । धेरै संघर्ष गर्नुपर्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘खानेपानीमा सहज पहुँच पुर्याउन सके गृहिणी महिलाको समय समेत समृद्ध नेपाल निर्माणमा लगाउन सकिन्छ ।’

राष्ट्रिय प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न निरन्तर काम भइरहेको उहाँले बताउनुभयो । ‘समृद्ध राष्ट्र निर्माणको नारा बोकेको वाम गठबन्धनलाई चुनावमा अत्यधिक बहुमत दिनुभएको छ, सरकार र मैले त्यही सपना पूरा गर्ने गरि काम गर्छौ,’ उहाँले भन्नुभयो ।

याे पनि पढ्नुस  मेलम्ची सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ २९ चैतमा : मन्त्री बिना मगर

कार्यक्रममा नयाँ वर्षको शुभकामना दिनुहुँदै उहाँले २०७४ सालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी सहभागिता लगायतका उपलब्धी संस्थागत गर्दै ३ वटै तहको निर्वाचन सम्पन्न गरेको र २०७५ सालले जनतालाई विकासको अनुभूति गराउने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले सबै ठाउँका जनताले सडक र खानेपानीको माग बढी गर्ने गरेकाले सरकारले खानेपानी र सडकका माग पूरा गर्न जोड दिनुपर्ने बताउनुभयो ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी कृष्ण मन्दिरमा

कार्यक्रममा मन्त्री बिना मगरले खानेपानीको धारा खोलेर आयोजनाको उद्घाटन गर्नुभएको थियो । उपभोक्ता समितिका अध्यक्ष कान्छा घलानको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान अतिथि रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस्