वैशाख ९ गते एकता टऱ्यो: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख नौ गते नेकपा एमालेसँग हुने भनिएको पार्टी एकता तत्कालको लागि पर सरेको बताउनु भएको छ ।

माओवादी केन्द्रनिकट नेपाल प्रेस सेन्टर र एमालेनिकट प्रेस चौतारी नेपालले आज बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलसहित चितवन आउनु भएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बैशाख नौ गते नै पार्टी एकता नहुने भयो । यो महिनाभित्र दुई पार्टी एक भएको घोषणा हुनेछ ।’ एकता प्रकृया सकारात्मक ढंगले अगाडि बढिरहेको र केही विषयहरुमा छलफल आवश्यक भएकोले बैशाख नौ गते पार्टी एकता घोषणा गर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

याे पनि पढ्नुस  प्रचण्ड रुपन्देहीमा, यस्ता छन् कार्यक्रम

‘दुई वटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोदेखि छलफल सुरु गरेका छौँ’ उहाँले भन्नुभयो, ‘कार्यदलले टुंगो लगाउन नसकेका केही विषयहरु हामी दुई नेता ९ओली र प्रचण्ड० ले टुंगो लगाउनु पर्ने भएकोले एकता घोषणाको लागि केही समय लाग्ने भयो । धेरै ढिलो हुँदैन, एकताको कुरा नमिल्नेतिर गएको छैन । त्यसैले एकता हुन्छ, भएरै छाड्छ ।’

याे पनि पढ्नुस  नेता अधिकारीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडिसिटीमा

अध्यक्ष प्रचण्डले विधानमा जनयुद्ध र जनआन्दोलनहरुलाई कसरी प्रस्तुत गर्ने ? निर्वाचन चिह्न के हुने ? एकताको मोडालिटी कस्तो तय गर्ने ? भन्ने विषयहरु टुंगो लाग्न बाँकी रहेको बताउनु भयो ।

उहाँले चुनाव चिह्नको बारेमा कुरा मिल्यो भनेर मिडियामा आएका कुरा सत्य नभएको बताउनु भयो । पार्टी एकता गर्दा भागबण्डा र प्रतिशतका कुरा नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सकेसम्म बराबरी भन्नेमा कसैको विमति छैन । प्रतिशतका कुरा दुबै पार्टीबाट भएका छैनन् ।’

सिण्डिकेट सकियो: बादल

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा अब यातायातको सिण्डिकेट सकिएको बताउनु भयो । उहाँले अहिले यातायात क्षेत्रको सिण्डिकेट ताडिएको र अब बिस्तारै अन्य क्षेत्रको सिण्डिकेट समेत तोड्ने दिशामा सरकार अगाडि बढ्ने बताउनु भयो ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भन्छन्, ‘बाँकी जीवन जनताको समृद्धिका निम्ति खर्च गर्छु’

‘हिजो हामीले यातायातको सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेका छौँ । यस कार्यको सबैतिरबाट समर्थन प्राप्त भएको छ’ गृहमन्त्री बादलले भन्नुभयो, ‘अब अन्य क्षेत्रमा देखिएका सिण्डिकेट पनि क्रमशः अन्त्य गर्नेछौँ । गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर नाफा कमाउने परिपाटी बन्द गर्छौं ।’

सुर्यप्रसाद कँडेल

कमेन्ट गर्नुहोस्