भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ ।

बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।”

याे पनि पढ्नुस  गृहमन्त्री बादलको निर्देशनपछि ५१ वटा सरकारी गाडी कब्जामा

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उहाँले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने उहाँको भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी हुनुभएका उहाँले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राख्नुभयो ।

मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरु चाहीँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको पनि उहाँले बताउनुभयो । गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा नीति बनाउन लागेको समेत जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

याे पनि पढ्नुस  अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई ७ दिनभित्र फिर्ता गर्न गृहमन्त्री थापाको निर्देशन

उहाँले गृहमन्त्रालयले गुनासो सुन्ने व्यवस्था मिलाउन लागेको समेत बताउँदै सुरक्षा निकायलाई शान्ति सुरक्षामा चुस्त भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

प्रहरी कार्यालयको भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य राख्दै प्रहरीले पुरानो शैलीबाट नभई समुदायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

याे पनि पढ्नुस  कालापानीमा सुरक्षाकर्मी राख्छौं : गृहमन्त्री वादल

सो क्रममा चितवनका प्रहरी प्रमुख दीपक थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो । कालिका नगरपालिकाको रु १४ लाख सहयोगमा निर्माण शुरु गरिएको प्रहरीको भवन पूरा हुँदा करीब रु दुई करोड खर्च हुने अनुमान गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्