क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोले औपचारिक रूपमा सत्ता हस्तान्तरण गरेपछि मिगेल डियाज-क्यानेल देशका नयन राष्ट्रपति भएका छन् ।
बिहिबार क्युबाको संसदले डियाजलाई देशको नयाँ नेताका रूपमा चयन गरेपछि ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्रोको उत्तराधिकारी को हुने भन्ने विश्व समुदायको जिज्ञासा शान्त भएको हो ।
यसका साथै १९५९ यता पहिलो पल्ट क्युबाली सत्ताको केन्द्रमा क्यास्ट्रो परिवारका सदस्य छैनन् ।

वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सन् २००६ मा उनका दाजु तत्कालीन राष्ट्रपति बिमारी भएपछि सत्तामा आएका थिए ।
तर राउल क्यास्ट्रोले पदत्याग गरेपनि देशको प्रभावशाली व्यक्तिका रूपमा रहिरहने छन् । उनी २०२१ मा क्युबाली कम्युनिष्ट पार्टीको अधिवेशन हुँदासम्म पार्टी अध्यक्ष रहिरहने छन् ।
समाचारहरूमा जनाइए अनुसार बढ्दो आर्थिक असमानता र युवाहरूका अपेक्षा नयाँ राष्ट्रपतिका निम्ति चुनौतीको रूपमा रहिरहने छन् ।
क्युबाली क्रान्तिको पृष्ठभूमिबाट आएका पूर्व राष्ट्रपति फिडेल र निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको तुलनामा क्रान्तिपछिको क्युबामा जन्मेका डियाजलाई उनका पूर्ववर्तीहरूको क्रान्तिकारी विगतसँग समेत तुलना गरिने ठानिएको छ ।
सन् २०१३ मा देशका उपराष्ट्रपति बनाइँदासम्म उनी खासै चर्चित नाम थिएनन् । तर त्यसपछि उनलाई राष्ट्रपति क्यास्ट्रोको दाहिने हात मानिन थालेको थियो ।
डियाजलाई गत पाँच वर्षदेखि राष्ट्रपति बन्न तयार पारिंदै थियो ।
पेसाले इलेक्ट्रिक इन्जिनियर डियाज फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेको एक वर्षपछि अप्रिल १९६० मा जन्मिएका हुन् ।
युवा अवस्थादेखि नै युवा कम्युनिस्ट लिगसँग आबद्ध डियाज ३३ वर्षकै उमेरमा सो संगठनको द्वितीय सचिव बनिसकेका थिए । उनी वैचारिक रूपमा सशक्त मानिन्छन् ।