आइपिएल क्रिकेट : क्रिस गेलको उत्कृष्ट ब्याटिङ, पञ्जाब शीर्ष स्थानमा

काठमाडौं, वैशाख ९ । क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जावले कोलकता नाइट राइडरस् लाई उसैको मैदानमा ९ विकेटले पराजित गरेको छ ।

शनिबार इडन गार्डेनमा १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको पञ्जावले ११ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले १ सय ९१ रन बनाएपनि वर्षाका कारण खेल प्रभावित भएपछि पञ्जावलाई १३ ओभरमा १ सय २५ रनको तार्गेट दिइएको थियो ।

पञ्जावका क्रिस गेलले आक्रामक ब्याटिङ गरे । ३८ बल खेल्दै अविजित रहेका गेलले ५ चौका र ६ छक्का प्रहार गर्दै ६२ रन बनाए । २७ बलमा ९ चौका र २ छक्का प्रहार गरेका अर्का ओपनर लोकेश राहुल ६० रनमा आउट भए ।

यसअघि गेलले हैदरावादविरुद्ध १ सय ४ र चेन्नई विरुद्ध ६३ रन जोडेका थिए । पछिल्ला तीन खेलमा गेलले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १ सय ९१ रन जोड्यो ।उसका लागि ओपनर क्रिस लियोनले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाए । ओपनर सुनील नारिन १ रनमै आउट भएपनि रोबिन उथप्पाले ३४ रन जोडेर कोलकाताको इनिङ सम्हाले । यस्तै कप्तान दिनेश कार्तिकले २८ बलमा ६चौकाको मद्दतमा ४३ जोडे ।

पाँच खेलमा ४ जित निकालेको पञ्जाव ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्