आइपिएल : कृष्णप्पा गोथमले हारेको खेलमा राजस्थानलाई जिताए  

काठमाडौं, वैशाख १० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित दर्ता गरेको छ । जयपुरमा भएको खेलमा राजस्थानले दुई बाँकी हुँदा मुम्बई इन्डियन्समाथि ३ विकेटको जित दर्ता गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १६८ रनको लक्ष राजस्थानले १९ ओभर चार बलमा सात विकेटको क्षतिमा भेट्टायो । राजस्थानको जितमा कृष्णप्पा गोथम नायक बने ।

उनले हारको नजिक पुगेको टिमको पारी सम्हाले । उनले ११ बलमा चार चौका र दुई छक्काको सहयोगमा नटआउट ३३ रन बनाएकाले नै राजस्थान विजयी भयो ।

यस्तै राजस्थानका लागि सञ्जु सामसोनले ३९ बलमा ५२ तथा बेन स्टोक्सले २७ बलमा ४० रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले सात विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ४२ बलमा ७२ तथा इशान किशनले ४२ बलमा ५८ रन बनाए पनि हार टार्न सकेनन् ।

जितपछि ६ खेलबाट ६ अंक जोडेको राजस्थान पाँचौँ स्थानमा छ । पाँच खेलमा चौथो हारसहित मुम्बई २ अंक जोडेर सातौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्