पशुपतिनाथमा राष्ट्रपतिद्वारा पञ्चामृत स्नानसहितको विशेष पूजा

काठमाडौँ । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उहाँले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको हो ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीबाट बुर्ज खलिफाको अवलोकन

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय जानु भई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिनुभएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

कोषका पदाधिकारीसँग कुरा गर्दै उहाँले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिनुभयो ।

याे पनि पढ्नुस  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डको परिवारलार्इ समवेदना प्रकट गरे

सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । त्यसबेला उहाँले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गर्नुभएको थियो । रासस

कमेन्ट गर्नुहोस्