इरानले परमाणु सम्झौता उल्लंघन गरेको आरोप, नेतन्याहुले प्रस्तुत गरे प्रमाण

काठमाडौं, वैशाख १८ । इरानले तीन वर्षअघि भएको परमाणु सम्झौताका बाबजुद पनि गोप्य रुपमा आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिएको इजरायलले आरोप लगाएको छ ।

परमाणु सम्झौताका बाबजुद पनि इरानले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिएको र परमाणु हतियार क्षमता बताढाएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आरोप लगाएका हुन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको गम्भीर उल्लंघन गरेको र आफूहरुसँग त्यसको नयाँ र आधिकारिक प्रमाण रहेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार इरानको परमाणु कार्यक्रमबारे आफ्नो देशको गुप्तचर विभागले प्राप्त गरेको हजारौँ पेज लामो कागजातबाट इरानले परमाणु कार्यक्रम रोकेको नभई थप अघि बढाएको देखिएको दाबी गरेका हुन् ।

नेतन्याहुले स्लाइड, तस्बिर तथा अरु कागजातहरु प्रस्तुत गरेका छन् र यी जानकारी केही हप्ता अघि मात्रै प्राप्त भएको उनको भनाई छ । इरानले परमाणु हतियार बनाएर इजरायलका बिद्रोहीलाई सप्लाई गर्ने गरेको द न्युयोर्क टाइम्सले खबर छापेको छ ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र इरानबिच भएको सम्झौतामा आफ्नो परमाणु उर्जा कार्यक्रम बन्द गर्ने र त्यसको बदलामा आफूमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । अमेरिकासहित विश्वका पाँच शक्ति राष्ट्रसँग तीन वर्षअघि इरानको परमाणु सम्झौता भएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम उर्जा उत्पादनका लागि मात्रै रहेको बताउने गरेको थियो । तर नेतन्याहुले इरानले गोप्य रुपमा परमाणु हतियार कार्यक्रम चलाएको आरोप लगाउने गरेका छन् ।

तर इरानले भने इजरायली प्रधानमन्त्रीको आरोप बच्चाले लगाएको आरोप जस्तै आधार हिन रहेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम सम्बन्धमा इजरायली प्रधानमन्त्री नेतन्याहुले गरेको प्रस्तुुतिको केही अंश हरेको र यदी त्यस्तो रहेको भए स्वीकार्य नहुने बताएका छन् । ट्रम्पले इरानसँगको परमाणु सम्झौतामा रहिरहने वा नरहने भन्ने विषयमा मे १२ सम्ममा निर्णय गर्ने पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस्