मोदी भारतबाट सिधै जनकपुर आउने, उतै रेड कार्पेट अाेछ्याउने तयारीमा सरकार

जनकपुर, बैशाख १८ । यहि बैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने भएका छन् ।

उनी भारतीय वायुसेवाको जहाजमा पटना आउने र त्यसपछि मोदी लगायत उनको टीम हेलिकप्टरबाट जनकपुर आउने छ । गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते मोदी सिधै जनकपुर अवतरण गर्ने पुष्टि गरेका हुन् ।

पटनाबाट तीनवटा हेलिकोप्टरमा जनकपुर अवतरण गर्ने भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत र नागरिक अभिनन्दन गर्ने कुरा गृहमन्त्री थापाले बताए।

प्रधानमन्त्री मोदी यहाँ जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यही दिन मुस्ताङ पुग्न कार्यक्रम छ। मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाण्डौं जानेछन्।

गृहमन्त्री थापाले मंगलबार बिहान हेलिकोप्टरबाट जनकपुर आएर मोदीको स्वागतको तयारी र सुरक्षा व्यवस्थाका बारे जानकारी लिएका छन्।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि सोमबार साँझ नै जनकपुर आइपुगेका छन्।

गृहमन्त्री थापासंगै गृहसचिव देवकुमार राई, गृह प्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखले सुरक्षा बन्दोबस्तबारे जानकारी लिएका छन्।प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गृहमन्त्री थापा र सुरक्षानिकायका उच्च अधिकारीलाई मोदीको स्वागत र सुरक्षाका लागि गरिएको तयारी बारे जानकारी दिए।

गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताए। ‘उहाँ (मोदी) को नेपाल भ्रमण बिल्कुल धार्मिक हो। राजनीतिक होइन,’ गृहमन्त्री थापाले सञ्चारकर्मीसित भने, ‘मोदीको भ्रमणले नेपाल–भारतबिच सदियौंदेखिको समाजिक र धार्मिक सम्बन्धलाई थप उचाइँमा पुर्‍याउनेछ।’

मोदी जनकपुर आउँदा उनलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको गृहमन्त्री थापासहितको उच्च सुरक्षा टिमले नीरिक्षण गरेको छ।
गृहमन्त्री थापाले मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त प्रदेश सरकारले गर्ने र संघिय सरकारले समन्वय गर्ने बताए।
बैशाख २८ गते भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण तालिका सरकारले बल्ल सार्वजनिक गरेको हो।

कमेन्ट गर्नुहोस्