अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि सरकारले विशेष कार्यक्रम ल्याउछ : मुख्यमन्त्री शाही

सुर्खेत, वैशाख १९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् ।

बुधवार प्रदेश मुख्यालयमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपाल कर्णाली प्रदेशको प्रतिनिधिमण्डलसंग भेटमा मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका आयआर्जन र रोजगारीका लागि प्रदेश सरकारले विशेष व्यवस्था गर्ने वताउनुभएको हो ।

प्रदेश सरकारको सम्पुर्ण ध्यान कर्णालीको विकास र समृद्धिमा रहेको वताउदै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र समृद्धिको योजनामा लोपोन्मुख तथा सीमान्तकृत समुदाय उच्च प्राथमिकतामा रहने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका लागि होमस्टे संचालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणका लागि अनुदानको व्यवस्था गर्ने वताउनुभयो ।

परम्परागत संस्कृति झल्कने गरि होमस्टे संचालनको तयारी गर्न समेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले सरकारले सहकारी, तथा समुहहरुसंग सहकार्य गरेर काम गर्ने नीति लिएको जानकारी दिदै लोपोन्मुख तथा सीमान्तकृत समुदायको सहकारी संचालन गर्न आग्रह गर्नुभयो ।

सहकारी सम्वन्धि प्रदेश कानुन वन्न लागेको र सो कानुनमा सहकारी दर्ता तथा संचालनमा समेत सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि विशेष व्यवस्था हुने मुख्यमन्त्री शाहीले वताउनुभयो ।

भेटवार्ताका क्रममा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालवहादुर राजीले संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समुहमा आरक्षणको व्यवस्था हुँदा आफुहरुलाई अन्याय भएको वताउनुभयो ।

लोपोन्मुख तथा सीमान्तकृत समुदायको उत्थानका लागि संविधानमा अल्पसंख्यक समुदायको लागि मात्र आरक्षण समुहको व्यवस्था गर्न अध्यक्ष राजीले माग गर्नुभयो ।

कमेन्ट गर्नुहोस्