सिंचाइबाट सिंगो देशकाे विकास र अर्थतन्त्रको आकार बढ्छ : उर्जामन्त्री

काठमाडौं, वैशाख १९ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताउनुभएको छ ।

अन्तराष्ट्रिय सिंचाई तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले उक्त धारणा राख्नुभएको हो ।

माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य राखेको जानकारी दिनुभयो ।

उहाले उक्त लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको धारणा समेत कार्यक्रममा व्यक्त गर्नुभयो ।

‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ ।

आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसंधान र प्राविधिक ज्ञान अन्तराष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

सम्मेलनमा ३० देशका सय भन्दा वढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ । सम्मेलनमा नेपालबाट करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्