जोखिममा पत्रकार, प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

काठमाडौं, बैशाख २० ।  विश्व प्रेस स्वतन्त्रता दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

विण्डहोक डिक्लेरेशन भएको दिन पारेर दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन चेक : मिडिया, जस्टिस एण्ड द रुल अफ ल अर्थात, “शक्तिको निगरानी र नियन्त्रण ः सञ्चार, न्याय र विधिको शासन” तय गरिएको छ ।

प्रेस स्वतन्त्रताका लागि कानुनी वातावरणलाई बलियो बनाउने, प्रेस स्वतन्त्रताको ग्यारेन्टिका लागि न्यायीक निकायको भूमिकालाई थप आकृष्ट गर्ने, पत्रकारमाथि हुने हिंसा र दबाबलाई क मगर्ने तथा कानुनी शासनका लागि प्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो वर्षको नारा तय गरिएको हो ।

यसैगरी दीगोविकास, चुनावका बेला, परादर्शीता, उत्तरदायित्व तथा कानुनी राज्यको स्थापनका लागि प्रेसको भूमिकालाई पनि यो वर्ष थप जोड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वका सबै सरकारलाई प्रेस स्वतन्त्रतालाई थप प्रभावकारी बनाउन तथा पत्रकारको सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन् । प्रेस स्वतन्त्रता सत्यको पक्षमा उभिनु रहेको उनले बताएका छन् ।

यसैबिच ञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त भएको र आधुनिक सभ्य समाजमा प्रेस जगत् र तिनको स्वतन्त्रताको महत्व सर्वोपरी रहेको उल्लेख गरेका छन् ।

यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछिसार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिए पनि मे २०१७ देखि अप्रिल २०१८ सम्म ६६ वटा घटना भए, जसबाट २०० भन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएका छन् ।

प्रतिवेदनअनुसार सन् २०१४ मा ५२, १५ मा ४१, १६ मा ५९, १७ मा २९ र १८ मा ६६ वटा घटना भएका छन् ।

तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झण्डै दोब्बर घटना २०१७–१८ को वर्षमा घटेको प्रतिवेदनमा जनाइएको छ । अघिकांश प्रेस स्वतन्त्रता उल्लंघनका घटना राजनीतिक मामिलासँग जोडिएका छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता उल्लंघका २९ घटना भएका थिए ।

यस वर्ष घटेका ६६ घटनामध्ये १४ आक्रमण, आठ पक्राउ, १३ हातपात, १४ ज्यान मार्ने धम्की, १६ वटा अवरोध र एउटा घटना तोडफोडका छन् ।

प्रेस स्वतन्त्रताविरुद्ध घट्ने घटनाहरूमा विशेष सरकारी कर्मचारी, राजनीतिक कार्यकर्ता, सुरक्षा निकायका व्यक्तिहरूको संलग्नता रहेको प्रतिवेदनमा जनाइएको छ । उल्लंघनका घटनामा सुरक्षा तथा सार्वजनिक निकायका कर्मचारीको संलग्नता बढी देखिएकाले उनीहरूले पत्रकारको हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

सार्वजनिक सरोकार, भ्रष्टाचारजन्य क्रियाकलाप, चुनाव तथा सोको मतगणना, राजनीतिक दलका प्रदर्शन, तस्करी तथा अपराधजन्य विषयको समाचार संकलनका क्रममा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना भएका छन् ।

राजनीतिक दलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न बारम्बार मौखिक प्रतिबद्धता जनाए पनि उनीहरूको स्वतन्त्रता विरोधी क्रियाकलापका कारण सञ्चारकर्मी अभिव्यक्ति स्वतन्त्रता उपभोगबाट वञ्चित रहेको देखिएको छ ।

यसैगरी, नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनसम्बन्धी ६२ वटा घटना भएका छन् ।

महासंघको सञ्चार अनुगमन इकाइका अनुसार गिरफ्तारी १६, बेपत्ता एक, अपहरण÷अवरोध छ, आक्रमण १७ दुर्व्यवहार÷धम्की १९ र नीतिगत बन्देजमा तीनवटा घटना रहेका छन् ।

दक्षिण एसियामा ३३ पत्रकार मारिए
अन्तर्राष्ट्रिय पत्रकार महासंघले बुधबार सार्वजनिक गरेको मिडिया प्रतिवेदनअनुसार दक्षिण एसियामा मात्र गएको एक वर्षमा ३३ जना सञ्चारकर्मी मारिएका छन् । मारिएका सबै पत्रकार आफ्नो कार्यक्षेत्रमै मारिएका छन् ।

प्रतिवेदनअनुसार मारिनेमध्ये २२ जना अफगानिस्तान, सातजना भारत र चार जना पाकिस्तानका छन् । माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा मारिएका पत्रकारका परिवारले न्यायसमेत नपाएको उल्लेख छ ।

पत्रकार सुरक्षाका दृष्टिकोणले विश्वमै दक्षिण एसिया खतराको क्षेत्रमा रहेको र यो लज्जास्पद भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघले जनाएको छ ।

दक्षिण एसियाली मुलुकमा पत्रकारविरुद्धको दण्डहीनता मौलाए भएपनि यसको अन्त्यका लागि ती मुलुकका सरकारहरूले कुनै ठोस कदम नचाल्दा पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको प्रतिवेदनमा औँल्याइएको छ । -देशसन्चारबाट

कमेन्ट गर्नुहोस्