हटाइएका बिदा पुनरावलोकन गरिदिन अध्यक्ष प्रचण्डसँग आदिवासी जनजातिको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा बिहीबार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताउनुभयो ।

उहाँले त्यसै पनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउनुहुँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताउनुभयो ।

‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको विषय होइन । बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनुभयो । उहाँले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाउनुभयो ।

उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको बताए ।

त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो आदिवासी जनजातिहरुको थियो ।

कमेन्ट गर्नुहोस्