आर्थिक समृद्धिका निम्ति निजी क्षेत्रको सहयोग अपरिहार्य : उपराष्ट्रपति पुन

काठमाडौं, वैशाख २० । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले स्थायी सरकारको निर्माण, विद्युत्भार कटौतीबाट मुक्ति तथा बन्दहडतालको अन्त्यसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको बताउनु भयो ।

उहाँले आर्थिक समृद्धिको आधार कृषि, ऊर्जा, पर्यटन र जडिबुटीको प्रवद्र्धनलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

चेम्बरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त्य भएसँंगै अबको गन्तव्य आर्थिक समृद्धि हुनुपर्ने बताउनुभयो ।

उहाँले देशमा व्यावसायिक वातावरण बनेकाले अब लगानी भित्र्याउनेतर्फ सरकारको ध्यान जानुपर्ने पनि औँल्याउनुभयो ।

कमेन्ट गर्नुहोस्