जनकपुरमा भारतीय उच्च सुरक्षा अधिकारीको सक्रियता बढ्यो, गुप्तचरको आशंकामा एक पक्राउ

जनकपुरधाम, वैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी तथा कुटनीतिक अधिकारी जनकपुरमा सक्रिय भएका छन् । उनीहरु मोदीको स्वागत र सुरक्षा अवस्थाप्रति केन्द्रित छन् ।

मोदीको सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै भारतीय उच्च सुरक्षा अधिकारी सक्रिय भएको अवस्थामा नेपाल प्रहरीले गुप्तचरको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल मोदीको स्वागत तथा सुरक्षा तयारी कडा पर्न स्थलगत अवलोकनको लागि जनकपुर आएका समयमा निकै सक्रिय देखिएका जीवन साहलाई जनकपुरको किशोरी नगरबाट नेपाल प्रहरीले आशंकाको आधारमा नियन्त्रणमा राखेका छन् ।

गृहमन्त्री थापाको अनुगमनको क्रममा साह सम्पूर्ण कार्यक्रममा सहभागि भएका थिए । प्रहरी नियन्त्रणमा रहेका साहसँग दुई ओटा पासपोर्ट, मोबाईल, विभिन्न कागजातहरु फेला परेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले साहको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको बताईएको छ ।

नयाँ दिल्लीबाट आएको भारतीय प्रधानमन्त्री कार्यालयका स्पेसल प्रोटेक्सन ग्रुप आईजीपी, विदेश मन्त्रालयका अधिकारी, भारतीय वायुसेनाका अभिनिल राय र राजदूत मञ्जिभसिंह पुरी लगायतको टोलीले जनकपुर आएर सुरक्षा व्यवस्था र तयारीबारे जानकारी लिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सीधै जनकपुर आउने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्