चीनलाई दिन चारवटा गैंडा समातियो, दर्लभ बन्यजन्तु किन दिनु पर्याे उपहार ?

चितवन, वैशाख २० । चीन सरकारलाई उपहार दिन लागिएका दुई जोडी गैँडा नियन्त्रणको काम सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैँडा तथा गैँडा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ । बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैँडा पनि उपहार दिइने भएपछि तीन गैँडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

उहाँका अनुसार आज सुखिभारबाट करीब दुई वर्षको पोथी गैँडा नियन्त्रणमा लिइएसँगै चीन पठाउने गैँडा नियन्त्रण कार्य सम्पन्न भएको छ । ती गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ ।

बाढीले बगाएपछि उद्धार गरिएको गैँडा प्रकृति संरक्षण कोषमा रहेको उहाँले बताउनुभयो । पठाउन लागिएका गैँडा दुई वर्ष हाराहारीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।

बच्चा गैँडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताउनुभयो । गैँडाको बच्चा तीन चार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिङ्ग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको ढकालले बताउनुभयो ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैँडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैँडा नियन्त्रण र आनीबानीलगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधि सँगै छन् । केही दिन पिट बुमामा राखेर गैँडाले खाना खान सहज भएपछि खुल्ला बुमामा छाडिनेछ । करीब तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ ।

विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो । नेपाली विज्ञ टोली गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । यसअघि पनि नेपालले विभिन्न देशलाई गैँडा उपहार दिँदै आएको छ । (फाइल फाेटाे)

कमेन्ट गर्नुहोस्