नोबेल पुरस्कारमाथि यौन-काण्डको छायाँ, रोकियो साहित्य तर्फको नोबेल पुरस्कार

काठमाडौँ । यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा नगरिने उक्त पुरस्कार प्रदान गर्ने संस्थाले जनाएको छ ।

उक्त पुरस्कार प्रदान गर्ने संस्था ‘स्विडिस एकेडेमी’ यौन काण्डमा मुछिएपछि यसपालिको पुरस्कारको घोषणा स्थगित गरिएको हो ।

फ्रेंच फोटोग्राफर जौं क्लोड अर्नाल्टको कथित यौन दुराचारको विषयमा एकेडेमीमाथि प्रश्न उठाइएका छन् । अर्नाल्टकी  पत्नी एकेडेमीकी पूर्व सदस्य हुन् जसलाई उनका पतिमाथि यौन उत्पीडनको आरोप लागेपछि पदबाट निष्काशित गरिसकिएको छ ।

गत वर्ष ‘#मी टु’ अभियानबाट प्रेरित भएर १८ महिलाहरूले अर्नाल्टमाथि यौन शोषण एवं उत्पीडनको आरोप लगाएका थिए । अर्नाल्टकी पत्नी एवं स्वेडिस कवयित्री क्याटरिना फ्रोस्टेन्सन पदमा रहिरहँदा पुरस्कारको गोप्यता भङ्ग हुनसक्ने आरोप लागिरहेको थियो ।

त्यसपछि एकेडेमीका सदस्यहरूको राजिनामाको क्रम सुरु भएको थियो । हालसम्म एकेडेमीका १८ मध्ये ६ सदस्यहरूले राजिनामा दिइसकेका छन्, जसमा एकेडेमी प्रमुख समेत सामेल छन् ।

एकेडेमीले सन् २०१८ को विजेता र सन् २०१९ को विजेताको घोषणा अर्को वर्ष सँगै गर्ने जनाएको छ।

सन् १९०१ मा उक्त पुरस्कार स्थापना भएयता उक्त दुर्व्यवहार काण्ड सो संस्थाले बेहोरेको सबभन्दा गम्भीर हो।

यसअघि सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै र द्वितीय विश्व युद्धका बेला छ वर्षसम्म उक्त पुरस्कार दिइएको थिएन।

यो वर्षको अन्य नोबेल पुरस्कार भने यथावत् हुनेछन्।

एकेडेमीले आफ्नो वेब्साइटमा भनेको छ, “यो निर्णय हाल एकेडेमीमा रहेको कम पदाधिकारी तथा एकेडेमीको सार्वजनिक विश्वसनीयतामा आएको आँचका कारण गरिएको हो।”

उसले एकेडेमीका विद्यमान प्रक्रियाहरूमा सुधार हुन आवश्यक भएको बताएको छ।

विधान, सूचनाका व्यवस्थापन अनि स्वार्थ बाझिने जस्ता विषयमा प्रक्रियागत सुधार हुनुपर्ने उसले जनाएको छ।

एकेडेमीका केही सदस्यहरूले पुरस्कारको परम्पराको रक्षा गर्नका लागि यो वर्ष पुरस्कार वितरण गर्नुपर्ने तर्क गरेका छन्।

तर अन्यले एकेडेमी पुरस्कार वितरण गर्ने स्थितिमा नरहेको बताए।

कमेन्ट गर्नुहोस्