सिण्डिकेट विरुद्ध सरकारको कदमको विरोध गर्दै आइरहेका यातायात व्यवसायीको आन्दोलन फिर्ता, आजबाट गाडी चल्ने

काठमाडौँ। यातायात क्षेत्रमा सिण्डिकेट विरुद्ध गृहमन्त्री झनै कठोर भएपछि आन्दोलनरत यातायात व्यवसायीले आजबाट आन्दोलन फिर्ता लिएका छन्।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्यकोले शनिवार एकाबिहानै प्रेस विज्ञप्ति जारी गरी आज २०७५ बैशाख २२ गतेदेखि सार्वजनिक यातायात चलाउने भएका हुन्।

विज्ञप्तिमा विद्यमान समस्याको वार्ताद्वारा समाधान गर्ने भन्दै आन्दोलन फिर्ताको घोषणा गरिएको हो । साथै उक्त विज्ञप्तिमा यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलनका तर्फबाट सार्वजनिक यातायात सेवालाई यथावत सुचारु गर्न सम्पूर्ण व्यवसायी, समितिहरु, प्रालिहरुलाई अनुरोध गरिएको छ।

यातायात व्यवसायीहरुले बैशाख २१ गतेबाट आन्दोलनस्वरूप सार्वजनिक यातायात नचलाएर, गाडीहरु ग्यारेजमा थन्क्याएपछि सरकार कडा रूपमा उत्रिएको थियो। उसले आन्दोलनमा उत्रिएका यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले बैशाख २१ गते विभिन्न जिल्लाबाट पक्राउ गरेको थियो ।

महासंघद्वारा सार्वजनिक विज्ञप्तिमा आन्दोलनका क्रममा पक्राउ परेका यातायात व्यवसायी, कर्मचारी एवं मजदुरहरूलाई  बिना शर्त रिहा गर्नुपर्ने माग गरिएको छ ।

उता गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ । सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उनले दिएका छन्।

कमेन्ट गर्नुहोस्