बुहारीको प्रताडना सहन नसकेर इच्छा-मृत्यु मागे वृद्ध दम्पतिले

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बुलन्दशहर जिल्लामा एउटा वृद्ध दम्पतिले बुहारीले साह्रै दुःख दिएको भन्दै भारतका राष्ट्रपति समक्ष इच्छा-मृत्युको माग गरेका छन् ।

ती दम्पतिको एउटा मात्र छोरो सशस्त्र सीमा बल (एसएसबी) मा सिपाही रहेको समाचारहरूमा उल्लेख छ।

ती दुई बुढा-बुढीले बुहारीले बेला-बेला कुरा सुनाएर सताउने गरेको र समयमा खान समेत नदिने गरेको आरोप लगाएका छन् । उनले भने, “बुहारीले खाना दिंदा पनि टाढैबाट रोटी फालिदिने गरेकी छिन्। र केही भन्यो कि लुछ्न आइहाल्छिन् ।”

उनीहरूले छोरालाई यसबारेमा केही भनेपछि उसले पनि उल्टै गालिइ गर्ने गरेको गुनासो गरे।

यसरी इच्छा-मृत्यको माग गर्नेमा बुलंदशहर जिल्लाको बीबीनगर थाना क्षेत्र अन्तर्गत बरकतपुर गाउँ निवासी ७० वर्षीय दानवीर त्यागी र उनकी पत्नी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई राष्ट्रपतिलाई सम्बोधन गरिएको पत्र हस्तान्तरण गर्दै त्यागीले आफूहरूले आफ्नो एकमात्र छोरो दीपक त्यागीलाई आफ्नो गच्छे अनुसार राम्ररी पालेको र उनी सेनामा भर्ति भएपछि उनले मन पराएकी केटीसँग उनको विवाह गरिदिएको बताए। तर उनकी बुहारीले उनको जीवन नै नर्क जस्तो बनाइदिएको त्यागीको आरोप रहेको छ।

ती वृद्धका अनुसार छोरासँग यसबारे कुरा गर्दा उसले कुनै ध्यान नदिएको र उल्टै आफूहरूलाई सम्पत्तिमाथिको अधिकारबाट समेत वंचित गरिदिएका छन् । त्यसपछि बुढा-बुढी छिमेकीहरूको शरणमा गएको र बुहारीले छिमेकीहरूसँग समेत झगडा गर्ने थालेको उनले बताए ।

त्यागीले यसबारेमा गाउँको पंचायतमा समेत गुनासो गएको र पंचायतले बुहारीले सासु ससुरालाई खाना दिनुपर्ने फैसला सुनाएको थियो । त्यसमा बुहारीले आफूले एक टुक्रा समेत नदिने प्रतिक्रिया दिएको समाचार भारतीय मिडियाहरूमा छ ।

कमेन्ट गर्नुहोस्