ट्रंप र किमबीच वार्ताको स्थान र मिति निर्धारित

काठमाडौँ । कुनै बेला अमेरिकी राष्ट्रपति ट्रंप र उत्तर कोरियाका राष्ट्रपति किन जोङ उनबीच सौहार्द्रपूर्ण वातावरण कायम होला भन्ने कुरा कल्पना समेत गर्न सकिंदैनथ्यो । तर वस्तुस्थितिमा नाटकीय परिवर्तन आएको छ र यी दुवै नेताबीच भेटवार्ता तय मात्रै भएको छैन अवश्यम्भावी समेत भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रंपले यस वार्ताको समय र स्थानबारेमा त केही बताएनन् तर उनले यस शिखर वार्ता अगाडि उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकहरूलाई छाडिने संकेत दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रंपले भने,  “हामी उत्तर कोरियासँग विस्तृत कुराकानी गर्न गइरहेका छौं र यस वार्ताअगाडि उत्तर कोरियासँग हाम्रा बन्दी नागरिकहरूका बारेमा केही सकारात्मक कुराकानी भएको छ । मलाई लाग्छ यहाँहरूले  छिट्टै राम्रो समाचार सुन्नु हुनेछ ।  भेटघाटको दिन र स्थान तय भइसकेको छ ।  हामी चाँडै यसको घोषणा गर्नेछौं ।”

तर राष्ट्रपति ट्रंपले दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति घटाउने मनस्थितिमा भने आफू नरहेको बताए ।

पत्रकारहरूले उत्तर कोरियासँग वार्ताको टेबलमा अमेरिकी सेना कटौतीको मुद्दा सामेल हुने या नहुने भन्ने प्रश्नमा राष्ट्रपतिले भने, “हैन, हैन । हामी यस्तो गर्ने छैनौं । त्यहाँ हाम्रा ३२ हजार सैनिक रहेका छन् ।  तिनीहरूलाई फिर्ता बोलाउने कुरा हुँदैन ।”

उता उत्तर कोरियाले सकारात्मक कदम उठाउँदै आफ्नो समय दक्षिणसँग मिलाएको छ । हालसम्म उत्तर कोरियाको समय दक्षिणको भन्दा आधा घण्टा पछाडि रहेको थियो ।

उत्तर कोरियाको सरकारी मिडियाले यसलाई दुई देशबीच एकीकरण प्रक्रियाको पहिलो व्यवहारिक कदम बताएको छ ।

 

कमेन्ट गर्नुहोस्