शेयर बजारमा करीब डेढ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, वैशाख २२ । धितोपत्र बजारमा यो साता एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैया बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो ।

गत साता १८२ कम्पनीको रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३६६ दशमलव १५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ३३ अंकले बढेर २८८ दशमलव २९ अंकमा आइपुगेको छ । यस साता कुनै पनि ऋणपत्रको कारोबार भएन ।

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ५९ लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै शेयर संख्याको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए ।

कमेन्ट गर्नुहोस्