कागज गरेर छुटे यातायात व्यवसायी, समितिहरू कम्पनीमा दर्ता गर्ने प्रतिबद्धता

मोरङ । यातायात सिण्डिकेटको विरुद्धमा रहेको सरकारलाई घुँडा टेकाउन आन्दोलनमा उत्रिएका व्यवसायीहरू पक्राउ परेपछि सिण्डिकेट नगर्ने कागज गरेपछि थुनामुक्त भएका छन् ।

प्रदेश नं. १ को मोरङबाट बाट सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि रिहा गरिएको जानकारी शनिवार एक पत्रकार सम्मेलन गरेर मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

विभिन्न यातायात समितिले शुक्रबार सार्वजनिक यातायात बन्द गरेका थिए । शनिबारदेखि भने यातायात सञ्चालनमा आएका छन् । विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन् ।

त्यस्तै झापामा पनि यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायी शनिबार साँझ रिहा भएका छन् ।

सार्वजनिक सवारी सञ्चालन नगरेपछि प्रहरीले मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरीलगायत आठजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको थियो ।

तर शनिबार भएको छलफलमा यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित सहमति जनाएपछि यातायात व्यवसायीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए

 

कमेन्ट गर्नुहोस्