Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माक्र्सवादलाई धर्मशास्त्रको रुपमा जपेर समाज अगाडि बढ्दैन : संयोजक भट्टराई

काठमाडौं, बैशाख २३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माक्र्सवादलाई धर्म शास्त्रको रुपमा जपेर मात्र समाज अगाडि नबढ्ने बताएका छन् ।

साम्यवादी दर्शनका प्रणेता कार्ल माक्र्सको २०० औं जन्मजयन्तीको अवसरमा नयाँ शक्ति पार्टीले शनिबार आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माक्र्सवादको दार्शनिक मान्यतालाई अंगिकार गर्दै पछिल्ला ज्ञान र विज्ञानले ल्याएको नविनतम् विचारलाई समायोजन गर्नुपर्ने बताए ।

‘मान्छेमा रहेको पशुवत गुणलाई त्यागेर मावनीय गुणलाई अंगाल्दै विज्ञानका पछिल्ला आविश्कारका राम्रा पक्षहरुलाई लिएर अघि बढ्ने नै नयाँ शक्तिको दार्शनिक पक्ष हो’ संयोजक भट्टराईले नयाँ शक्ति पार्टीको दार्शनिक मान्यतालाई प्रस्ट्याउँदै भने – ‘हामी माक्र्सवादी दर्शनमै टेकेर नयाँ समाजवादी मोडेल विकास गर्नेछौं । हामी माक्र्सवादको पूजा गर्ने होइन, यसको सिर्जनात्मक प्रयोग गर्नेछौं ।’

उहाँले कार्ल माक्र्सले दर्शन, अर्थशास्त्र र समाजशास्त्रको अध्ययनमा गरेको योगदानको चर्चा गर्दै माक्र्सले पूँजीवादी युगको कर्मकाण्डी खालको लोकतन्त्रको साटो उन्नत प्रकारको लोकतन्त्रको परिकल्पना गरेको बताए ।

कार्ल माक्र्स द्विशताब्दी जन्मजयन्तीको अवसरमा बाबुरामले अगाडि सारे बृहत् सहकार्यको एजेन्डा

उनले भने ‘माक्र्सले आफूपूर्वका सबैखाले ज्ञान र विज्ञानको आविश्कारलाई संश्लेषण गरी नयाँ विचारको सुरुवात गरेको थिए, अब २१ औं शताब्दीमा त्यतिले मात्र पुग्दैन । त्यसैले पछिल्ला ज्ञान र विज्ञानका आविश्कार र नियमहरुको संश्लेषण गरी माक्र्सवादलाई समृद्ध बनाउनुपर्छ ।’

त्यस्तै कार्यक्रममा नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले कार्ल माक्र्सको योगदानको चर्चा गर्दा उनलाई एक दर्शनशास्त्री, अर्थशास्त्री, समाजशास्त्री र राजनीतिक योद्धाको रुपमा हेरिनुपर्ने बताए ।

कार्ल माक्र्सले कहिल्यै पनि लोकतन्त्रको विकल्पको रुपमा समाजवादी व्यवस्थाको परिकल्पना नगरेको तर्क गर्दै माक्र्सले सहभागितामूलक लोकतन्त्रको आवश्यकता उतिबेलै महशुस गरेको बताए ।
उनले माक्र्सवादमा ग्रहण गरिँदै आइएको निषेधको निषेध सिद्धान्तलाई गतिशील सन्तुलनको सिद्धान्तले प्रतिस्थापन गर्नुपर्ने तर्क गरे ।

त्यसैगरी नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं काठमाडौं जिल्ला ईन्चार्ज मानुषी यमि भट्टराईले माक्र्सलाई बुझ्न उनीद्वारा देखिएका कृतिहरुकै अध्ययन गर्नुपर्ने बताइन् ।

उनले समाजलाई बुझ्ने र बदल्ने पद्धतीको अन्वेषणमा माक्र्सले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै माक्र्स गुण र दोषसहितको मानव भएकाले माक्र्सले जीवनमा गरेका केही गल्तीहरु भए त्यसलाई मानवीय कमजोरीकै रुपमा स्वीकार्नुपर्ने बताइन् ।
पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं कार्यालय प्रमुख राजु नेपालले सहजिकरण गर्नुभएको कार्यक्रममा नयाँ शक्ति पार्टीका नेताहरु नवराज सुवेदी, हिसिला यमी, गंगा नारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: