अनिश्चितकालीन हड्ताल गर्ने यातायात व्यवसायीकाे चेतावनी

काठमाडौ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिको बैठकवाट प्रहरी प्रशासनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरी हस्तक्षेप गरेको भन्दै घोर भत्सर्ना गरेको छ । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुलु समिति सह संयोजक अर्जुन रानाभाटले विज्ञप्ति निकाल्दै पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने चेतावनी दिएका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक यातायात क्षेत्रमा देखिएको समसामयिक बिद्यमान समस्याहरूको स्थाई समाधानको लागि यातायात संग सम्बन्धित महासंघले उठान गरेका मागहरूलाई वार्ता द्रारा समस्या समाधान गर्न अपिल गर्दछौ अन्यथा कडाभन्दा कडा आन्दोलन गर्न हामी वाध्य हुनेछौ,सम्भावित दुर्घटना नियुनिकरण गर्न पक्राउ गरेकालाई विना सर्त रिहाइको माग गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले तानाशाही प्रवृत्ति हावी भएको हुदा एकलौटी ढङ्गले सरकार लागि परेको बताए ।

महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।

शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसँग माग गरेको थियो ।

यही विषयमा छलफल गर्न शनिबार साँझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।

महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्