यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार महेन्द्र बिष्ट र राजेश अहिराजलार्इ

काठमाडौं, वैशाख २३ । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता र सम्मानका लागि पाँच जना पत्रकारको नाम छनौट गरेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिको सिफारिशअनुसार दुई जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार र तीन जनालाई बरिष्ठ पत्रकार सम्मान गर्ने निर्णय गरिएको हो ।

जसअनुसार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. महेन्द्र बिष्ट र डा. राजेश अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी बबिता बस्नेत, कौशल चेम्जोङ र नीमबहादुर बुढाथोकीलाई बरिष्ठ पत्रकार सम्मान प्रदान गर्न लागिएको हो ।

उनीहरुलाई सोमवार राष्ट्रपति भवन शीतलनिवासमा बिशेष समारोहको आयोजना गरी राष्ट्रपति बिद्यादेवी भण्डारीले सो पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार छनोटका लागि सचिव गुरुङको नेतृत्वमा बरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, सामुदायिक रेडयो प्रशारक संघ, एकोर्यावका पूर्वअध्यक्ष रघु मैनाली र सञ्चारिक समुहकी अध्यक्ष निर्मला शर्मा सदस्य रहेको समिति गठन गर्नुभएको थियो ।

प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य पदेन सदस्य रहनुभएको सो समितिमा सञ्चार मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ सदस्य सचिव हुनुहुन्थ्यो ।

समितिले सर्वसम्मत रुपमा पाँच जना पत्रकारको नाम सिफारिश गरेको हो । पुरस्कृत सवै पत्रकार नेपाली पत्रकारिता क्षेत्रमा स्थापित नाम हुन ।

कमेन्ट गर्नुहोस्