यातायात व्यवसायी महासंघका अध्यक्षसहित पाँच पदाधिकारी रिहा

काठमाडौं, वैशाख २३ । सिन्डिकेट अन्त्यको विरोधमा रहेका यातायात व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीहरु सरकारी कदमको स्वागत गर्दै सिन्डिकेट नमान्ने कागज गरेर आइतबार रिहा भएका छन्।

महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रमान कर्माचार्य, विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का सिन्डिकेट नमान्ने कागज गरेपछि रिहा भएका छन्।

शनिबार देशभर यातायातका साधन नचलाएर सरकरी निर्णयको विरुद्ध आन्दोलनमा उत्रिएका महासंघका पदाधिकारी बैठक स्थलबाट पक्राउ परेका पाँचै जनालाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले प्रमुख जिल्ला अधिकारी केदार शर्मा समक्ष उपस्थित गराएको थियो।

उनीहरु काठमाडौँका प्रजिअ केदरनाथ शर्मा, महमनगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल, यातायात व्यवसायी महासंघ संयुक्त संघर्ष समितिका सह संयोजका अर्जुन रानाभाट र गणतान्त्रिक यातायातको संयोजक दधिराम खरेलको रोहवरमा रिहा भएका हुन्।

गृह मन्त्रालयले सिन्डिकेटको पक्षमा रहुँन्जेल रिहा गर्न नमिल्ने भन्दै कारबाही प्रक्रिया अगाडि बढाएपछि उनीहरुले बाध्य भएर सिन्डिकेट नमान्ने कागजमा हस्ताक्षर गरेका हुन्। उनीहरुले सिन्डिकेट तोड्न सरकारले चलेको कदममा समर्थन गर्दै सरकारी निर्णयको प्रतिकूल हुनेगरी यातायात सञ्चालन नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

उनीहरुले सरकारले चालेको सिन्डकेट हटाउने कदमलाई स्वागत गर्दै सरकारको नीति अनुकूल अगाडि बढ्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्