पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार

काठमाडौं, बैशाख २४ । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ ।

उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।

पाखुरामा गोली लागेर घाइते भएका उनको नरोवाल जिल्लाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

इकबाल पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग (नवाज) का सदस्य हुनुहुन्छ । सुरक्षा अधिकारीहरुले गोली प्रहार गरेको आरोपमा २० वर्षका एक युवालाई पक्राउ गरिएको जनाएका छन् ।

गोली प्रहार गर्नुको कारण खुलेको छैन । पाकिस्तानका अधिकांश राजनीतिक दलले गृहमन्त्रीमाथि गोली प्रहार भएको घटनाको निन्दा गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्