राष्ट्रपतिद्वारा विष्ट र अहिराज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

बस्नेत, चेम्जोङ र बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान प्रदान

काठमाडौं, वैशाख २४ । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गरेको छ । साथै बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ ।

सोमबार तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले पत्रकारद्वय डा विष्ट, डा अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार र बस्नेत, चेम्जोङ र बुढाथोकीलाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरेकी हुन् ।

सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले पुरस्कार पाउने पत्रकारहरुको छनौट विधिलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको समृद्ध र सुशासनको एजेन्डामा नेपाली पत्रकारहरुले सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष आचार्यले सरकारले पत्रकारहरुको सम्मान गर्ने परम्परालाई निरन्तरता दिएकोमा आभार पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्