आफैले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवास सार्वजनिक

विराटनगर, वैशाख २४ । गत चैत्र २५ गते मोरङको विराटनगरमा गोली प्रहारबाट घाइते भएका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले श्रीनिवासलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरी सोमबार विराटनगरमा सार्वजनिक गरेको हो ।

प्रहरी अनुसन्धानमा श्रीनिवास आफैले गोली हान्न लगाएको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए ।

ज्यान मार्ने उद्योगमा पक्राउ परेका चितवनका माधव चौधरी र नवलपरासीका लक्ष्मीराज अधिकारीले श्रीनिवासकै योजना गोली हानेको बयान दिएका थिए ।

चौधरीले श्रीनिवासमाथि गोली प्रहार गरेको र अधिकारीले हतियार उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गोली लागि घाइते भएका श्रीनिवासको २१ दिनसम्म विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।

थप उपचारका लागि भन्दै भारतको नयाँदिल्ली जाने क्रममा श्रीनिवासलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । चौधरी र अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरी उपरिक्षक बीसीले बताउनुभयो ।

तीनै जना पक्राउ परे पनि गोली हान्न प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गर्न सकेको छैन । श्रीनिवासले हातमा गोली हान्न भनेको तर गल्तीले छातिमा लागेको चौधरीले प्रहरीलाई वयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्