‘२० प्रतिशत महिलालाई सम्पत्तिमाथिको अधिकार’

काठमाडौं, वैशाख २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय सरकार बलियो र सशक्त नभएसम्म महिला र बालबालिका सुरक्षित हुन नसक्ने बताउनुभएको छ ।

दिदीबहिनी नामक संस्थाले सोमबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तहमा लैङ्गिक समानता र चुनौति’ विषयको कार्यशालामा मन्त्री थापाले वर्तमान अवस्थामा स्थानीय सरकार जनताको सरकार भएकाले स्थानीय तहले नै समुदायलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला सशक्तीकरणका लागि राजनीतिसँगै आर्थिक क्रान्ति शुरु गर्न आवश्यक रहेको औँल्याउनुभयो । महिलाअधिकारकर्मी सरु जोशीले स्थानीय जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरे मात्र जनताको आशानुरुप काम हुने बताउनुभयो ।

अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अझै पनि २० प्रतिशत महिलालाई मात्र सम्पत्तिमाथिको अधिकार रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले स्थानीय तहमा ४१, प्रदेशसभामा ३४ र संसद्मा ३२ प्रतिशत महिला सहभागिता ठूलो उपलब्धि हो भन्दै त्यसलाई संस्थागत गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्