पुनर्वास सीमा विवादलाई मोदीको भ्रमणमा विशेष रुपमा उठाउन सांसदको माग

काठमाडौं, वैशाख २४ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विषयलाई प्रमुखताका साथ उठाउन सांसदहरुले माग गरेका छन्।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा सीमा विवादको विषयलाई विशेष एजेण्डाका रुपमा उठाउनमा माग गरेका हुन्।

कञ्चनपुर पुनर्वास नगरपालिकाको वडा नम्बर–९ को बीसफाँटा भन्ने स्थानमा नेपाली पक्षले लगाएको विद्युतीय तारबारलाई भारतीय सुरक्षा बल (एसएसबी)ले हटाउँदा स्थानीय बासिन्दा र भारतीय सुरक्षाकर्मीबीच तनाब बढेको छ ।

भारतीय भूमीबाट आउने जंगल जनावरले बालीनाली नष्ट गरेपछि स्थानीयले बार लगाएका थिए। सोमबारको बैठकमा सांसद इन्दु कडरियाले एक सय ९५ नम्बरको सीमा स्तभ्य भारतीय पक्षले उखलेको र त्यसबाट उत्पन्न समस्या समाधान गर्न तत्काल पहल गर्न आग्रह गरिन्।

उनले सीमा सर्वेक्षण टोली खटाएर सन् १९५० को सन्धिअनुसार सीमा कायम गर्न पनि माग गरिन्। सरकारले तत्काल सक्रियता नजनाए केही विद्यालयसहित ठूलो मात्रमा नेपाली भूमी अतिक्रमण हुने अवस्थामा रहेको कडरियाले बताइन्।

गत वर्ष स्थानीय र भारतीय सुरक्षाकर्मीबीच कल्भर्ड निर्माणमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागी स्थानीय युवा गोविन्द गौतमले सोही स्थानमा शाहदत भएका थिए । त्यस्तै सांसद अनिता देवकोटाले पुर्नवासमा भारतीय पक्षले तान्डव नृत्य गरेको आरोप लगाइन्। देवकोटाले सरकारलाई गफबाट नभई काम गरेर राष्ट्रवादी बन्न चुनौति दिइन्।

अर्का सांसद हरिराम चौधरीले पुर्नवास सीमा विवादलाई दुई देशका प्रधानमन्त्रीको छलफलको विशेष एजेण्डा बनाउन माग गरे। उनले राष्ट्रियसभामा भने, ‘पुनर्वासमा भारतीय पक्षबाट निन्दनीय काम भएको छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला विशेष एजेण्डाका रुपमा यसलाई उठाउुपर्छ । यसबाट नागरिक आजित भएका छन् ।’

यसअघि वैशाख २० गते सात नम्बर प्रदेशका प्रदेश तथा संघीय संसदका सदस्यहरुले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्