एशियन लाइफको ४ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद प्रस्ताव

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आवको नाफाबाट ४ प्रतिशत बोनसपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीले आगामी जेठ १९ गते आह्वान गरेको १० औं वार्षिक साधारणसभामा सो प्रस्ताव लैजाने भएको छ ।

बीमा समितिले दिएको निर्देशन अनुरुप २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न कम्पनीले बोनपश्चात ६० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले चार प्रतिशत बोनसपश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँको ६० प्रतिशत बराबर अर्थात ७५ करोड ४० लाख ३५ हजार रुपैयाँको हकप्रद ल्याउने भएको हो ।

त्यस्तै कम्पनीले हाल रहेको संस्थापक साधारण पूँजी संरचना ७०ः३० को अनुपातबाट ५१ः४९ कायम गर्ने भएको छ । अहिले रहेको ७० प्रतिशत संस्थापक स्वामित्वमा १९ प्रतिशत घटाएर साधारण सेयरको अनुपात बढाउन लागेको हो । इन्स्योरेन्सले २ अर्बबाट बढाएर अधिकृत पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ।

जेठ १९ गते होटल भिष्वा वीरगञ्जमा हुने १० औं वार्षिक साधारणसभाका लागि कम्पनीले जेठ २ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले जेठ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र ४ प्रतिशत बोनस पाउनेछन् । कम्पनीले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रदले समेत पाउनेगरि ४ करोड ८३ लाख ३५ हजार ५९४ रुपैयाँ बोनस सेयर वितरण गर्नेछ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिमा परिवतर्न गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र एकजना स्वतन्त्र सञ्चालक गरि ७ सदस्यीय सञ्चालक समिति कायम गर्ने प्रस्ताव पनि सभामा रहेको छ । मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्