चिनियाँ कम्युनिस्ट पार्टीले सदस्यहरूको प्रतिबद्धता परीक्षण गर्दै

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले आफ्ना सदस्यहरूको प्रतिबध्दता परीक्षण गर्न विशेष प्रविधिको प्रयोग गर्न थालेको छ ।

यसका लागि पार्टीले विशेष प्रकारको भर्चुअल रियालिटी(भिआर) परीक्षण गर्दैछ । यसबाट सदस्य बन्न इच्छुक व्यक्तिमा आवश्यक योग्यता र वैचारिक प्रतिबद्धता रहे नरहेको जाँच गर्न सकिने बताइएको छ ।

चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले समाचार पोर्टल ‘बिन्झोउडब्ल्यु डट कम’मा प्रकाशित समाचारलाई आधार मान्दै पूर्वी चीनको शांदोङ प्रान्तको बिन्झोउ सहरको किङयाङ इलाकामा पार्टी सदस्यहरू भिआर गियरको प्रयोग गर्दै प्रतिबद्धता परीक्षणका लागि उपस्थित भएका थिए ।

उक्त परीक्षणमा पार्टी सदस्यहरूको चिनियाँ कम्युनिस्ट पार्टीप्रति आस्था र पार्टी एवम् जनताको लागि योगदान गर्नसक्ने तत्परता र आदर्श बन्नसक्ने योग्यतामा केन्द्रित रहेको बताइएको छ ।

किङयाङमा पार्टी सदस्यहरूका निम्ति भिआर हेडसेट लगाएर, रिमोट कन्ट्रोल समातेर भर्चुअल कक्षमा प्रवेश गरेर ३० वटा प्रश्नहरूको उत्तर दिनु अनिवार्य बनाइएको थियो ।

परीक्षणमा पार्टीका नीतिनिर्देशक सिद्धान्तहरू, सदस्यहरूको दैनिक जीवनशैली लगायत पार्टीको अग्रणी भूमिकाबारे उनीहरूको बुझाइसँग सम्बन्धित प्रश्नहरू सामेल थिए ।

बेईजिङस्थित सिपिसी केन्द्रीय समितिको पार्टी स्कुल विभागका प्राध्यापक सी झिकियाङका अनुसार यस परीक्षणले पार्टी सदस्यहरूको राजनैतिक गुणवत्ता र उनीहरूमा जनताको सेवा गर्ने क्षमता अभिवृद्धिका तरिकाहरू पत्ता लगाउन प्रयोग गरिने बताए ।

 

कमेन्ट गर्नुहोस्