संसदमा आज प्रि–बजेट

काठमाडौं, बैशाख २६ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५÷०७६ को बजेटको तयारीमा रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन् ।

नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री डा. खटिवडाले प्रि–बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ ।

अर्थ मन्त्रालयले पनि बुधबारको बैठकमा प्रि–बजेट पेश गर्ने तयारी रहेको जनाएको छ । गएको शनिबार सुरु भएको संसदको बजेट अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।

अर्थ मन्त्री डा. खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दीगो विकास लक्ष्य प्राप्ती, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरिरहेका छन् । योसँगै बजेटमा केही यस्ता योजना पनि आउने सम्भावना छ, जुन सरकारको महत्वकांक्षासँग जोडिएका हुनेछन् ।

आधारभूत रुपमा फेरिएको देशको राजनीतिक संरचना र नयाँ संविधानले व्यवस्था गरेको संघीयताको मर्मलाई बलियो बनाउने गरी बजेटको तयारी भएको अर्थ स्रोतले बताएको छ ।

संसदमा आज अरु के के हुँदैछ ?
संसद बैठकमा बुधबार नै गृह मन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्ने तयारी छ ।

यस्तै गरी शिक्षा, विचान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भीन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूचि छ ।

कमेन्ट गर्नुहोस्